© 2026
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ मा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरिएको छ ।
समाजका अनुभव, ज्ञान र योगदानका धनी ज्येष्ठ नागरिकलाई कदर गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले विशेष सम्मान कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोतिजंग रायमाझीले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गरे। उनले जीवनका लामो अनुभवबाट प्राप्त ज्ञान, सीप र संस्कार नयाँ पुस्ताका लागि मार्गदर्शन हुने बताउँदै ज्येष्ठ नागरिकको सम्मान गर्नु सम्पूर्ण समाजको कर्तव्य भएको धारणा व्यक्त गरे। साथै, अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समान अवसर र सम्मान प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
वडा भित्र रहेका ६० जना ज्येष्ठ नागरिक र ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद एक हजार रुपैयाँसहित खादा ओढाएर सम्मान गर्ने कार्यक्रम सुरु गरिएको वडा सचिव विष्णुप्रसाद आचार्यले बताएका छन् । साथै, कार्यालयसम्म आउन असमर्थ ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने व्यवस्था गरिएको पनि वडा सचिव आचार्यले जानकारी दिए।
कार्यक्रममा वडा सदस्यहरू विष्णुमाया भुसाल, निर्मला नेपाली, दामोदर पौडेल र खिमबहादुर मुखिया लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले आफूहरूलाई गरिएको सम्मानप्रति खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताएका थिए। उनीहरूले स्थानीय सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर हुने अपेक्षा व्यक्त गरे।
यो कार्यक्रमले समाजमा सम्मान, सहानुभूति र समावेशिताको भावना मजबुत बनाउने विश्वास लिइएको छ।