Butwal Today

लुम्बिनीमा रुमिन्देई माई चैते पूर्णिमा मेला सञ्चालन हुने

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

लुम्बिनी  ।

लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला–२०८२ सम्बन्धी जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमार्फत मेलाको उद्देश्य, कार्यक्रम तालिका, सहभागिता तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराइएको हो ।

रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनी क्षेत्रको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ । चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा पूजा–आराधना गर्न, तथा मेला अवलोकन गर्न आउने परम्परा रहिआएको छ । यस मेलाले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश समेत प्रवाह गर्ने गर्दछ ।

यो मेला बुद्ध जन्मनु भन्दा पहिले देखि रुमिन्देई माई चैते पूर्णिमा मेला लगिँदै आएको र यस ऐतिहासिक मेलालाई थप व्यवस्थित बनाउँदै लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट बजेट विनियोजन गरी विभिन्न किसिमका सांस्कृतिक नाचगान कार्यक्रम आयोजना गरिएको नगर प्रवक्ता नइमुल्लाह फकिरले जानकारी दिए ।

रुमिन्देई माई चैते पूर्णिमा मेला यही १८ गते देखि २२ गते सम्म सञ्चालन हुने छ । मेन गेट नम्बर ५ वाट बिहान ११ बजे बहु सांस्कृतिक कलश शोभा यात्रा निकाली मेला स्थलमा पुगी मेलाको उद्घाटन गरिने छ । मेलाका मुख्य आकर्षकहरू बुद्ध विरहा नृत्य, कुस्ती दङ्गल, नाचगान, बौद्ध आध्यात्मिक नाटक, आकासे झोलुङ्गे पिङ, सर्कस, जादु र विभिन्न सांस्कृतिक सहितको प्रस्तुति रहने मेला समितिका संयोजक विनोद श्री वास्तवले बताए ।

मेलामा कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट त्यस्तै सीमावर्ती भारतको सिद्धार्थनगर, बस्ती, महराजगंज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थीहरूको अपेक्षा गरिएको मेला समितिका अनुगमन कर्ता हुसेनी लोधले बताए ।

मेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन, सिसिटिभी निगरानी र प्रवेश–नियन्त्रण, भीड व्यवस्थापनका लागि छुट्टै टोली, आपत्कालीन स्वास्थ्य सेवा र एम्बुलेन्सको व्यवस्था गरिने मेला समितिका संयोजक सदस्य अहमद खाने जानकारी गराए ।

पत्रकार सम्मेलनमा आयोजकले मेला सफल बनाउन सञ्चारमाध्यम, स्थानीयवासी तथा सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?