© 2026
काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । उनले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले जानकारी दिए ।
“प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताए ।
“सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ”, सांसद खड्काले भने ।
सांसदहरुले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएको उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गरेका थिए ।