Butwal Today

घोराही–लमही सडक: जोखिमपूर्ण मोडहरू काटिँदै 

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

लमही  । लामो समयपछि दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ ।

घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्म करिब १७ किलोमिटर सडकका साँघुरा स्थानहरू फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।

घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोड तथा साँघुरा स्थानहरूमा कटिङ तथा पर्खाल (वाल) निर्माण गरेर सडक चौडाइ बढाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

सडक विस्तारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा २० करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरका तीनवटा ठेक्का सम्झौता गरी काम सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड मुनाल–केवी–सुनिल एण्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । यस्तै, मसोटखोलादेखि अर्जुनखोलासम्मको खण्ड ६ करोड ८० लाख ९० हजार रुपैयाँमा इजी–अलकापुरी जेभीसँग सम्झौता गरी काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्रै सडक फराकिलो बनाउने लक्ष्यसहित निर्माण कार्य धमाधम भइरहेको प्रमुख विष्टले बताए । सडक सुधारअन्तर्गत जोखिमपूर्ण मोडहरू कटान गरी सवारी साधन सञ्चालन गर्दा दुवैतर्फ स्पष्ट देखिने बनाउने, साँघुरा स्थानहरूमा चौडाइ विस्तार गर्ने तथा बढ्दो सवारी चाप व्यवस्थापन गर्ने उद्देश्य राखिएको छ । माटो कटिङ सम्भव नभएका स्थानमा पर्खाल निर्माण गरेर सडक विस्तार भइरहेको छ ।

साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा सडक विस्तार र मोड सुधारपछि यातायात सेवा थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?