Butwal Today

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छः मन्त्री डा तिमिल्सिना

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । हुलाक सेवा विभागको कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पुरातात्विक तथा ऐतिहासिक महत्त्वका तीन नयाँ हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा विभागको स्वीकृत ‘फिलाटेलिक कार्यक्रम’अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइएको हो ।

त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले मुलुकका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पु¥याउन सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

मन्त्री डा. तिमिल्सिनाले सरकारको सयबुँदे मार्गचित्रअनुरूप नयाँ ढङ्गले कामको गति बढाउनेगरी कार्ययोजना पेस गर्न विभागलाई निर्देशन दिए । उनले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गरे ।

मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरे । उनले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ गतिका साथ सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुकका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताए ।

विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले टिकटले अन्तरराष्ट्रिय जगत्मा महत्त्वपूर्ण योगदानका गर्ने बताए । उनले हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताए ।

सोही अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनालाई विभागको तर्फबाट स्वागत गर्नुका साथै विभागको कामकारबाहीबारे जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?