Butwal Today

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै सडकमा उत्रिए स्थानीय

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

नेपालगन्ज ।  नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् ।

‘गीता’ नामले चिनिने सृजना बुढाको घटनापछि आक्रोशित भीडले दोषीलाई कडा कारबाही गर्न माग गर्दै सडकमा उत्रिएको हो । सृजनालाई उनका प्रेमी भनिने व्यक्तिले आगो लगाएर हत्या गरेको परिवारको आरोप छ ।

सृजनाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्नताको आशङ्कामा स्थानीय २४ वर्षीय गोलु भनिने मोहम्मद आरिफ ढपालीसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकालाई कुनै पनि बहानामा उम्कन नदिन र घटनालाई तोडमोड हुन नदिन दबाब दिँदै परिवारका सदस्य र स्थानीयवासीले सोमवार जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमै नाराबाजी गरेका छन् । उनीहरूले दोषीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।

यसैबिच, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको टोलीले पनि घटनाको गम्भीरता औँल्याउँदै दोषीलाई कडा कारबाहीको माग गरेको छ । सहयात्री नेपाल, वास तथा पूर्व बालअधिकारकर्मीहरू लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रमुख जिल्ला अधिकारी दिनकुमार तामाङलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको भन्दै यस्ता घटनाविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता औँल्याइएको छ । अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र हदैसम्मको कडा सजाय दिन माग गरिएको छ। पीडितलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने अधिकारकर्मी स्वेता गुरुङको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले घटनामा गृहमन्त्रीको समेत ध्यानाकर्षण भइसकेको जानकारी दिँदै दोषीलाई कानुनी दायराबाट उम्कन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिइसकेको पनि जानकारी दिए ।

शनिबार राति नेपालगन्जको कोरियनपुरमा जलेको अवस्थामा एक युवती फेला परेकी थिइन् । स्थानीयले युवतीलाई जलिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । आइतबार बिहान मृतक सृजना बुढा रहेको पुष्टि भएको थियो ।

मृतक सृजनाको तीन वर्षीया छोरी रहेको खुलेको छ । पतिसँग सम्बन्ध विच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय युवक आरिफ ढपालीसँग प्रेम सम्बन्धमा थिइन् र उनीहरू सँगै बस्दै आएका थिए । अनुसन्धानका क्रममा उनीहरूबिच सम्बन्ध राम्रो नभएको र पटक–पटक विवाद हुने गरेको स्थानीयले बताएका छन् ।

घटनाभन्दा दुई दिनअघि चैत १३ गते सृजनाले आरिफविरुद्ध कुटपिटको उजुरी प्रहरीमा दिएकी थिइन् । सोही आधारमा पक्राउ परेका आरिफलाई चैत १४ गते ‘अब उप्रान्त झगडा नगर्ने’ सर्तमा छाडिएको थियो । तर, त्यही रात सृजना आरिफको घर नजिकै सडकमा जलेको अवस्थामा फेला परेपछि घटना झन् शङ्कास्पद बनेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्नताको आशङ्कामा आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार घटनाको प्रकृति गम्भीर र शङ्कास्पद भएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सूचना नफैलाउन तथा समुदायबिच द्वन्द्व सिर्जना हुने खालका टिप्पणी नगर्न सबैमा अपिलसमेत गरेको छ । यस घटनाले फेरि एक पटक समाजमा महिला सुरक्षाको प्रश्न गम्भीर रूपमा उठाएको छ ।

पीडित परिवार न्यायको पर्खाइमा छ भने स्थानीयवासी दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने मागमा अडिग देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?