Butwal Today

तीन पूर्वप्रधानमन्त्रीमाथि सीआईबी र सम्पत्ति शुद्धीकरण विभाग सक्रिय

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीमाथि छानबिन तीव्र सीआईबी र सम्पत्ति शुद्धीकरण विभाग  सक्रिय भएको छ । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहरीले छानबिन प्रक्रिया तीव्र पारेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्त रूपमा अनुसन्धानलाई अगाडि बढाएका हुन्।

नयाँ सरकारको निर्देशनसँगै अनुसन्धान सक्रिय बनेको छ। यसअघि पनि विभागले  जेनजी आन्दोलनका क्रममा ती पूर्वप्रधानमन्त्रीहरूको घरमा भेटिएको नगद र गरगहनाबारे अनुसन्धान गरिरहेको थियो। आन्दोलनका क्रममा घरमै नगद जलेको भिडियो सार्वजनिक भएको थियो भने केही नगद तथा गहना सरकारको नियन्त्रणमा समेत लिइएको थियो। यद्यपि, चुनावी सरकारको समयमा उक्त अनुसन्धानले अपेक्षित गति लिन सकेको थिएन।

बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले २०६२ ०६३ साल देखी हाल सम्म सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेपछि यो विषय पुनः प्राथमिकतामा परेको हो। सरकारले यसका लागि उच्चस्तरीय आयोग गठन गर्ने घोषणा समेत गरिसकेको छ।

यसैक्रममा विभागको पत्रपछि पूर्वमन्त्री दीपक खड्कालाई आइतबार बिहान सीआईबीले पक्राउ गरेको छ। उनलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ, र अनुसन्धान अघि बढ्दै जाँदा थप तथ्यहरू खुल्ने सम्भावना रहेको छ। सीआईबीले पनि आर्थिक अपराध अनुसन्धान महाशाखामार्फत यस्ता मुद्दाहरूमा अनुसन्धान गरिरहेको जनाएको छ।

एक उच्च प्रहरी अधिकारीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अनुसन्धान गर्न अलग्गै संरचना बनाइएकाले अब यस्ता प्रकरणहरू व्यवस्थित रूपमा अघि बढाइनेछ। सीआईबी प्रमुख एआईजी डा.मनोज केसीले खड्का पक्राउमा विभागलाई सहयोग गरिएको बताए पनि पूर्वप्रधानमन्त्रीहरूमाथिको अनुसन्धानबारे विस्तृत खुलाउन चाहेनन्।

यसैबीच, केपी शर्मा ओली हाल प्रहरी नियन्त्रणमै रहेका छन्। उनलाई जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसबाट भएको ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। स्वास्थ्य समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् र अदालतसँगको प्रक्रिया भिडियो कलमार्फत गरिएको थियो। अदालतले प्रारम्भिक रूपमा ५ दिनको म्याद दिएको छ।

अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अनुसन्धान अगाडि बढेकोमा प्रतिक्रिया दिँदै आफूले नै छानबिनको माग गर्दै आएको बताएका छन्। उता, शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा हाल हङकङमा रहेको जानकारी आएको छ। उनीहरू समयमै स्वदेश नफर्किएमा प्रहरीले अन्तर्राष्ट्रिय सहयोग इन्टरपोल लिन सक्ने संकेत गरिएको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित यो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूसँगै उनीहरूका परिवारका सदस्यहरू पनि अनुसन्धानको दायरामा पर्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?