© 2026
काठमाडौँ । संयुक्त राज्य अमेरिका ले इरान विरुद्धको आक्रमणमा टोमाहक क्रुज मिसाइलको व्यापक प्रयोग गरेको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ। पछिल्लो चार हप्तामा मात्रै अमेरिकाले ८५० भन्दा बढी टोमाहक मिसाइल प्रहार गरेको दाबी गरिएको छ।
विशेषज्ञहरूका अनुसार अमेरिकी नौसेनासँग झन्डै ४ हजार टोमाहक मिसाइल रहेको अनुमान गरिन्छ। यदि सार्वजनिक तथ्यांक सही मान्ने हो भने, यो आक्रमणपछि अमेरिकाको कुल भण्डारको करिब एक चौथाइ हिस्सा प्रयोग भइसकेको हुन सक्छ।
टोमाहक मिसाइल अत्याधुनिक र महँगो हतियारमध्ये एक हो। एउटा मिसाइल उत्पादन गर्न झन्डै ३४ करोड रुपैयाँ करिब २–३ मिलियन अमेरिकी डलर लागत लाग्ने र उत्पादन प्रक्रियामा करिब दुई वर्षसम्म समय लाग्ने अनुमान गरिएको छ। यसकारण हाल प्रयोग गरिएको मिसाइलको कमी पूर्ति गर्न वर्षौं लाग्न सक्ने विश्लेषण गरिएको छ।
यसैबीच, गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान मा हवाई हमला गरेपछि क्षेत्रीय तनाव चरम अवस्थामा पुगेको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायत शीर्ष अधिकारीहरू मारिएको दाबी गरिएको छ ।
त्यसपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूलाई लक्षित गरी आक्रमण गरिरहेको छ, जसका कारण मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। एक महिनादेखि जारी यस तनावले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाएको छ। यसक्रममा अली लारिजानी र अली मोहम्मद नैनी जस्ता उच्च पदस्थ व्यक्तिहरूको मृत्यु भएको पनि बताइएको छ।
मानव अधिकार सम्बन्धी संस्थाका अनुसार हालसम्म इरानमा ३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको दाबी गरिएको छ। यो समग्र घटनाक्रमले मध्यपूर्वको भूराजनीतिक अवस्था थप अस्थिर बन्दै गएको संकेत दिएको छ। साथै, लामो समयसम्म द्वन्द्व जारी रहने र विश्व शक्तिहरूबीच तनाव अझै बढ्ने सम्भावना देखिन्छ।