काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा. मनोज केसीले खड्कालाई विभागमा पठाइएको जानकारी दिए ।
उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन अब विभागले नै गर्नेछ । साथै, म्याद थपका लागि पनि विभागले नै उनलाई अदालतमा पेस गर्नेछ ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।