© 2026
काठमान्डौँ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।
सरकारले शुक्रबार जेनजी आन्दोलन जाँचबुझ आयोग को सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि शनिबार ओली र लेखकलाई पक्राउ गरिएको हो । जेनजी आन्दोलनको समय ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।
ओली पक्राउ परेपछि नेकपा (एमाले) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ । पदाधिकारीबाहेकका एमाले नेताहरूले समेत अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोध जनाइरहेका छन् ।
यता नेपाली कांग्रेसले भने घटनाबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सोही कार्यक्रममा विषय उठेपछि समीक्षा गरी औपचारिक धारणा सार्वजनिक गरिने एक पदाधिकारीले बताएका छन् ।
‘आज सांसदहरूलाई अभिमुखीकरण दिँदैछ । त्यहीँ विषय उठ्यो भने समीक्षा गरेर धारणा सार्वजनिक हुन्छ,’ उनले भने ।