Butwal Today

ओली पक्राउको विरोधमा आइतबारबाट एमाले विधिवत प्रतिवादमा उत्रने

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आइतबारदेखि औपचारिक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष ओली र पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकको पक्राउको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै उक्त कदमलाई लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत ठहर गरिएको जानकारी दिए । पार्टीले दुवै नेताको निशर्त रिहाइको माग पनि गरेको छ ।

एमालेका अनुसार आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । यद्यपि, जनसङ्गठनहरूले भने शनिबारदेखि नै प्रतिरोधका कार्यक्रम सुरु गरिसकेको जनाइएको छ ।

यसैबीच, भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति एमालेले असहमति जनाउँदै उक्त प्रतिवेदन न्यायिक सिद्धान्तविपरीत रहेको दाबी गरेको छ । पार्टीले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरेको छ ।

एमालेले उक्त घटनाविरुद्ध संयुक्त पहलका लागि अन्य राजनीतिक दल र सरोकारवालासँग सहकार्यको आह्वान गरेको छ । “घटनाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध सबैलाई चिन्तित बनाएको छ,” महासचिव पोखरेलले भने, “यसविरुद्ध कानुनी तथा राजनीतिक दुवै माध्यमबाट प्रतिवाद गर्नेछौँ ।”

साथै, संसदमा रहेका दलहरूसँग संवाद गर्दै सामूहिक प्रतिवादका कार्यक्रम अघि बढाउन नेताहरू विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्ट लगायतलाई जिम्मेवारी दिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?