© 2026
भैरहवा । रुपन्देहीमा पशु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय स्तरको महत्त्वपूर्ण भेला आयोजना हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल भेटेरिनरी एसोसिएसन ले १६औँ संस्करणको भेटेरिनरी सम्मेलन सञ्चालन गर्न लागेको हो।
कार्यक्रमको मुख्य उद्देश्य ‘एक स्वास्थ्य’ अवधारणामार्फत मानव, पशु र वातावरणबिचको सम्बन्धलाई सुदृढ बनाउने आयोजकले जानकारी दिए।
चैत २७ र २८ गते मणिग्राम मा हुने उक्त कार्यक्रमले पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एउटै प्लेटफर्ममा ल्याउँदै समग्र स्वास्थ्य प्रणालीमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
“दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा नेपालसँगै सातभन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन्। साथै, १५ भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूले आफ्ना अनुभव र अनुसन्धान प्रस्तुत गर्ने तयारी रहेको जानकारी डा. केदार सुवेदी ले दिएका छन्।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा १५० भन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछन्, जसमा महामारी नियन्त्रण, खाद्य सुरक्षादेखि जलवायु परिवर्तनका असरहरूसम्मका विषय समेटिनेछन्।
साथै, पशु उत्पादन क्षेत्रमा देखिएको मूल्य असन्तुलनबारे पनि छलफल गरिनेछ। पछिल्ला वर्षहरूमा नेपाल मासु उत्पादनमा आत्मनिर्भर बन्दै गए पनि किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था कायम रहेको विषयलाई सम्मेलनले विशेष रूपमा उठाउने जनाइएको छ।
कार्यक्रममा पशु स्वास्थ्यसँग सम्बन्धित औषधि, खोप, पोषण तथा आधुनिक उपकरणहरूबारे जानकारी दिने प्रदर्शनी स्टलहरू पनि राखिनेछन्। यसले सहभागीहरूलाई नयाँ प्रविधि र व्यवहारिक अभ्यासबारे प्रत्यक्ष अनुभव दिलाउने विश्वास डा. शङ्कर न्यौपाने ले व्यक्त गरेका छन्।
हालसम्म करिब २५० जना पशु चिकित्सकले दर्ता गराइसकेका छन् भने करिब ५०० जना विशेषज्ञ तथा प्राविधिकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
सम्मेलनअघि चैत २६ गते एक्स्ट्रा टेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा देशभरिका भेटेरिनरीयनबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता पनि आयोजना गरिनेछ।