Butwal Today

सौभाग्य गोल्डकपको तयारी पुरा

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

बुटवल । स्थानीय स्तरमै फुटबलको आधार बलियो बनाउँदै राष्ट्रिय खेलकुदमा योगदान पु¥याउने लक्ष्यसहित सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप–२०८२ आयोजना हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सौभाग्य युवा क्लबद्वारा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुजु मल्लले प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताले खेलाडीलाई प्रतिस्पर्धात्मक प्लेटफर्म उपलब्ध गराउने मात्र नभई विभिन्न जिल्लाबाट खेलप्रेमीलाई आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय व्यवसायको प्रवाह र लुम्बिनी क्षेत्रको पहिचान अभिवृद्धिमा टेवा पु¥याउने लक्ष्य राखिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिता सिद्धेश्वरी खेलमैदान, दीपनगरमा सञ्चालन हुनेछ, जहाँ करिब २ हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताभर झण्डै ४५ हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

साथै, सिद्देश्वर मैदानलाई दीर्घकालीन रूपमा ‘मिनी स्टेडियम’ का रूपमा विकास गर्ने लक्ष्यसहित गुरुयोजना सरकारी निकायसम्म पेश गरिएको अध्यक्ष मल्लले बताए ।

रूपन्देहीसहित चितवन, नवलपरासी र कपिलवस्तुका गरी १२ वटा क्लबहरूको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय स्तरका चर्चित टिमहरूबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विजेता टोलीले ५ लाख ५ हजार रूपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?