© 2026
दोहा, कतार ।
मानवीय तथा परोपकारी भावनालाई अभिप्रेरितका साथ “रक्तदान, जीवनदान,महादान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारले शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजको २३औँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार कतारको ब्लड डोनेसन सेन्टरमा ६८ जना नेपालीहरूले रक्तदान गरेका छन् ।
कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । रक्तदानका लागि ८८ जनाले नाम दर्ता गराएका थिए । शुक्रबार बिहान ८ बजेदेखि सुरु भई मध्यान्हसम्म सञ्चालन भएको कार्यक्रममा अन्तिम रक्तदान समाजका अध्यक्ष मित्र बी.एस.ले गरेका थिए ।
मानवीय तथा परोपकारी कार्यमा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई समाजले हार्दिक आभार व्यक्त गर्दै प्रशंसापत्र समेत प्रदान गरेको थियो ।