© 2026
भैरहवा । विश्व शान्तिको सन्देश दिने उद्देश्यसहित भैरहवामा तेस्रो धम्म यात्रा भएको छ । भैरहवाको सिद्धार्थ रंगशाला रोडदेखि बुद्धचोकस्थित लुम्बिनी रोडसम्म धम्म यात्रा भएको हो “५०० कुलपुत्र प्रव्रज्या” कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा करिब ५०० नव–प्रव्रजित सामणेर तथा भिक्षुहरूको सहभागिता थियो । उक्त यात्राले शान्ति, करुणा र सह–अस्तित्वको सन्देश प्रवाह गरेकोे छ।
भगवान बुद्धले राजगृहदेखि कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राबाट प्रेरित यस धम्मयात्रालाई धार्मिक अनुष्ठान मात्र नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरिएको थियो। धम्मयात्राको क्रममा गेरुवा वस्त्रधारी बौद्ध भिक्षुहरू लामबद्ध भई अघि बढेको र भिक्षुहरूले काँधमा आफ्ना व्यक्तिगत सामग्री राखिएको झोला ग्वापा बोकेका थिए । उनीहरू नाङ्गा खुट्टा हिँडिरहेका थिए, जसले तपस्या, सादगी र अनुशासनको सशक्त सन्देश दिएको छ। भिक्षुहरू हिँड्ने मार्गमा विशेष रूपमा कपडा बिछ्याइएको थियो, जसमा सयपत्री फूलका पत्रहरू छरिएका थिए। यसले सहभागी भिक्षुहरूप्रति गरिएको सम्मान र श्रद्धालाई झल्काएको थियो।
कार्यक्रमका क्रममा बोल्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तिमगरले बुद्ध जन्मभूमि नेपाल भएकोमा सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने उल्लेख गरे। उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता बताउदै समाजमा हुने हिंसात्मक तथा अमानवीय गतिविधिप्रति चिन्ता व्यक्त गरे।
उनले मानव–मानवबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना विकास गर्नुपर्नेमा जोड दिँदै म होइन हामी भन्ने भावनालाई आत्मसात गर्न आग्रह गरे। साथै, बुद्धका अष्टाङ्गिक मार्ग र पञ्चशीलका सिद्धान्तलाई व्यवहारमा लागू गर्नु नै यस्ता कार्यक्रमको सार्थकता हुने धारणा व्यक्त गरे।
सभामुख घर्तिमगरले लुम्बिनी प्रदेशको नामकरण बुद्ध जन्मभूमिको पहिचानसँग जोडिनु गर्वको विषय भएको उल्लेख गर्दै यसले प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाएको बताए। उनले कार्यक्रममा सहभागी भिक्षु, उपासक–उपासिका तथा सर्वसाधारणप्रति आभार व्यक्त गर्दै यस्ता आध्यात्मिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे।
आयोजकहरूका अनुसार यस धम्मयात्राले लुम्बिनी क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। कार्यक्रममा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। समग्रमा, धम्मयात्राले शान्तिपूर्ण सहअस्तित्व, नैतिक जीवनशैली र सामाजिक सद्भावको सन्देश फैलाउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूको निष्कर्ष रहेको छ।
बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर अल्पकालीन भिक्षु बनेका ५ सय जना र स्थानीयको उपस्थितिमा धम्म यात्रा भएको धम्म यात्रामा बौद्ध धर्मसँग सरोकार राख्ने विभिन्न संघसंस्थाका साथै स्थानीय दर्जनौं संघसंस्थाहरु सहभागी थिए ।