© 2026
भैरहवा । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले मुलुकको यातायात क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरोकारवाला निकायले तत्काल समस्या समाधानको माग गरेका छन्। शनिबार सम्पन्न लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारणसभामा व्यवसायीहरूले इन्धन, मर्मत, बीमा तथा करलगायत सञ्चालन खर्चमा भएको व्यापक वृद्धिका कारण व्यवसाय धान्न कठिन भएको उल्लेख गर्दै भाडा समायोजन गर्न सरकारसमक्ष जोडदार माग गरेका छन्।
कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी संघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नीति निर्माण तहमा यातायात क्षेत्रका यथार्थ समस्या पर्याप्त रूपमा नबुझिएको बताए । उनले इन्धन मूल्यसँगै मर्मत, बीमा तथा करजस्ता सहायक खर्चहरू पनि बढ्दै जाँदा व्यवसाय सञ्चालन कठिन बन्दै गएको बताए । उनका अनुसार वर्तमान अवस्थामा धेरै व्यवसायीहरू घाटा व्यहोर्दै सेवा सञ्चालन गर्न बाध्य छन्। उनले सडक दुर्घटनाका कारण व्यवसायीमाथि थप आर्थिक भार पर्ने गरेको पनि औँल्याए। दुर्घटना हुँदा बीमा प्रक्रिया र क्षतिपूर्तिसम्बन्धी सम्पूर्ण दायित्व सवारीधनीकै काँधमा पर्ने भएकाले यसले व्यवसायीको आर्थिक अवस्था थप कमजोर बनाएको उनको भनाइ थियो। यस्तो परिस्थितिमा सरकारबाट समयमै भाडा समायोजन नभएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।
त्यसैगरी, संघका अध्यक्ष रुमाखर गौतमले नीतिगत अस्थिरताले यातायात क्षेत्रको दीर्घकालीन योजना निर्माणमा बाधा पु¥याएको बताए। उनले बारम्बार हुने नीति परिवर्तनका कारण व्यवसायीहरूले नयाँ–नयाँ चुनौती सामना गर्नुपरेको उल्लेख गरे। साथै, भारतीय नम्बर प्लेटका सवारीसाधनको नेपालमा सञ्चालनले स्वदेशी व्यवसाय प्रभावित भएको भन्दै उनले विदेशी प्रतिस्पर्धालाई नियन्त्रण गर्नुपर्ने आवश्यकता भएको बताए।
संघका संस्थापक अध्यक्ष बिष्णुप्रसाद खरेलले नयाँ सरकारले यातायात क्षेत्रका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले यातायात क्षेत्रलाई देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। अन्य वक्ताहरूले पनि यातायात क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै यसको सुदृढीकरणका लागि इन्धन मूल्य नियन्त्रण, कर प्रणाली सुधार तथा व्यवसायीमैत्री नीति आवश्यक रहेको धारणा व्यक्त गरे।