© 2026
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थित जोनापुर गाउँमा यतिबेला उत्साह र खुसियालीको माहोल बनेको छ । आफ्नै गाउँको माटोमा जन्मेर हुर्किएकी गीता चौधरीले नेपाल सरकारको मन्त्रिमण्डलमा कृषि, पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएपछि स्थानीय बासिन्दामा नयाँ आशा पलाएको हो ।
दुर्गम ग्रामीण भेगबाट उठेर राज्यको नीतिनिर्माण गर्ने सर्वोच्च तहसम्म पुग्नुलाई जोनापुरवासीले सफलता मात्र नभई समग्र मुलुक र आफ्नो समुदायको गौरव र प्रतिष्ठाको विषय मानेका छन् । मन्त्री चौधरीको बाल्यकालदेखिको स्वभाव र समाजप्रतिको लगावलाई उहाँका निकटस्थहरूले आजको सफलताको मुख्य कडी मानेका छन् ।
उनका काका रामप्रसाद चौधरीका अनुसार, “गीता सानैदेखि सामाजिक कार्यमा रुचि राख्थिन् । गाउँका सानातिना समस्या हुन् या सामूहिक काम सधैँ अग्रपङ्क्तिमा रहेर न्यायिक कार्यसम्पादनमा केन्द्रित रहने उनको स्वभाव थियो ।” विभिन्न सङघसंस्थामार्फत समाजसेवामा निरन्तर सक्रिय रहने गीताको बानीले आज राजनीतिमा यो उचाइ दिलाएको उनले बताए। आर्थिक अवस्था सामान्य रहे पनि आफ्नै मिहिनेत र दृढ सङ्कल्पले कानुनमा स्नातकोत्तरसम्म पढ्ेकि चौधरीले राजधानी काठमाडौँमा गरेको राजनीतिक सङ्घर्ष र निरन्तरताले उनलाई मन्त्री पदसम्म पु¥याएको गाउँले बुझाइ छ । स्थानीय अगुवा सुरेश चौधरीले मन्त्री गीतालाई बाल्यकालदेखि सङ्घर्षशील र सहयोगी स्वभावको व्यक्तिका रूपमा चिनेको बताए । उनले भने, “कसैलाई आपत्विपत पर्दा सधैँ अघि सर्ने परोपकारी भावनाले उनलाई राजनीतिमा स्थापित गराएको हो ।”
नागरिक उन्मुक्ति पार्टीबाट आफ्नो औपचारिक राजनीतिक यात्रा आरम्भ गरेकि नवनियुक्त मन्त्री चौधरी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट निर्वाचित भएकि हुन । उनी अहिले मन्त्री बन्न सफल हुनुलाई यहाँका बासिन्दाले एउटा प्रेरणादायी र ऐतिहासिक यात्राका रूपमा लिएका छन् । जोनापुर गाउँका बासिन्दा मन्त्री चौधरीबाट ठूलो आशावादी देखिनुको मुख्य कारण उनले ग्रामीण समस्यालाई नजिकबाट भोग्नु र बुझ्नु भएको छ । कृषिमा आधारित जीवनशैली रहेको यस क्षेत्रका किसानहरू वर्षौँदेखि सिँचाइ, रासायनिक मल, उन्नत बीउविजन र आधुनिक कृषि औजारको अभावमा रहँदै आएका छन् ।
स्थानीय भरतबहादुर चौधरीले यी समस्यासँग मन्त्री चौधरी पूर्ण रूपमा जानकार भएकाले समस्या समाधानमा उनको पहल रहने विश्वास व्यक्त गरे । “हामी कृषिमा अझै परनिर्भर छौँ, खेती गर्ने समयमा मल पाइँदैन, उत्पादित वस्तुले उचित बजार पाउँदैनन्”, उनले भने “अब गाउँकी छोरी कृषि मन्त्री हुनुभएको छ, उनले आधुनिक खेती प्रणाली, अनुदान र किसान लक्षित तालिमको व्यवस्था गरी उत्पादन वृद्धि र आयात घटाउन ठोस् पहल हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”स्थानीय चौधरीका अनुसार विशेषगरी कृषि उपकरणमा बढ्दो परनिर्भरता हटाउन र युवाहरूलाई कृषिमा आकर्षित गरी स्वरोजगारमा आवद्ध गराउन तालिम तथा सीप विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनमा आउनेमा स्थानीयले भरोसा राखेका छन् । कृषिबाहेक वन र वातावरण मन्त्रालयको जिम्मेवारी उनकै काँधमा भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँका बासिन्दाले वर्षौँदेखि जङ्गली जनावरको सास्तीबाट मुक्ति पाउने आशा गरेका उनले बताए।
जङ्गली हात्ती, बाघ र चितुवाका कारण हुने जनधनको क्षति यहाँको मुख्य र दीर्घकालीन समस्याका रूपमा रहेका स्थानीय बताउँछन् । स्थानीय महेश महराले वन्यजन्तुको आक्रमणबाट घरगोठ भत्काउने, अन्नबाली नष्ट गर्ने, पशुचौपाया मारिने वर्षौँदेखिको समस्या अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरे । “अहिलेसम्म धेरै पटक यो पीडा सम्बन्धित निकायमा पु¥यायौँ, तर ठोस् सुनुवाइ भएन । अब हाम्रै गाउँकी छोरी वनमन्त्री हुनुभएको छ, निकुञ्ज आसपासका बासिन्दाको सुरक्षाका लागि विद्युतीय तारबार, उज्यालो बत्ती र अन्य प्रभावकारी सुरक्षाका उपायहरू आगामी दिनमा कार्यान्वयन हुनेमा हामी ढुक्क छौँ ।”
मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधान गरी मानव र प्रकृतिबीचको सम्बन्ध सुधार्न मन्त्री चौधरीको भूमिका निर्णायक हुने अपेक्षा स्थानीयले गरेका छन् । ग्रामीण परिवेशबाट उठेर राष्ट्रिय राजनीतिमा आफ्नो सक्रिय उपस्थिति जनाएकी मन्त्री चौधरीप्रति जोनापुरबासीको आशा र भरोसा दुवै उच्च देखिएको छ । कृषिको व्यवसायीकरण र निकुञ्जको समस्या समाधानमार्फत ग्रामीण जीवनस्तर उकास्न उहाँ सफल हुनेमा यहाँका स्थानीयले विश्वास व्यक्त गरेका छन् । उनको सकारात्मक पहलमा सबैको साथ र समन्वय रहने स्थानीयले प्रतिबद्धता जनाएका छन् ।