© 2026
सिद्धार्थनगर । रुपन्देहीको मायादेवी गाउँपालिकामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटल स्थापना भएको पाँच वर्षमै लुम्बिनी प्रदेशकै एक प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित भएको छ ।
अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र बहु आयामिक स्वास्थ्य सेवाको विस्तारसँगै अस्पतालले छोटो अवधिमै ८९ हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै स्वास्थ्य सेवामा उल्लेखनीय फड्को मारेको छ ।
नेपाल सरकारले तोकेको भवन आचारसंहिता, वातावरणीय मापदण्ड तथा अन्य आवश्यक सबै प्रक्रिया पूरा गरेर सञ्चालनमा आएको यो अस्पताल लुम्बिनी प्रदेशमा पहिलो १०० बेड क्षमताको अस्पताल हो ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, करिब पाँच वर्षअघि ट्रमा सेन्टरका रूपमा सुरु गरिएको अस्पताल आज बहु विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक स्वास्थ्य संस्थामा रूपान्तरण भइसकेको छ ।
विशेष गरी जटिल रोग तथा ठुला शल्यक्रियाका लागि अन्य अस्पतालहरूबाट बिरामी रिफर भएर आउने क्रम उल्लेखनीय रूपमा बढेको छ, जसले यसलाई क्षेत्रीय रेफरल हबको रूपमा विकास भइरहेको पौडेलको भनाइ छ ।
हाल सिटी हस्पिटलमा हाड जोर्नी तथा स्पाइन सर्जरी, पेट सम्बन्धी अपरेसन, पत्थरी उपचार, प्रसूति सेवा, पाठेघर सम्बन्धी शल्यक्रिया, आईसीयू तथा एनआईसीयू सेवा लगायतका बहुविध स्वास्थ्य सेवाहरू उपलब्ध गराइरहेको पौडेलले बताए ।
उनका अनुसार, यस क्षेत्रमा पहिलो पटक ६४ स्लाइसको हाई–रिजोलुसन सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याइएको छ, जसले जटिल रोगहरूको छिटो र सही निदानमा महत्त्वपूर्ण भूमिका खेलेको छ । आधुनिक उपकरण र प्रविधिको प्रयोगले अस्पतालको उपचार क्षमता अझ सुदृढ बनेको पनि उनको दाबी छ ।
अस्पतालले दुरबिन (ल्याप्रोस्कोपिक) प्रविधिबाट पत्थरी, हर्निया, एपेन्डिसाइटिस जस्ता शल्यक्रियाहरू सफलतापूर्वक गर्दै आएको छ भने पाइल्सका बिरामीहरूका लागि लेजर सर्जरी सेवा पनि उपलब्ध गराएको छ ।
यी आधुनिक प्रविधिहरूले बिरामीलाई कम पीडा, कम समयमै निको हुने तथा छोटो बसाइमै डिस्चार्ज हुने सुविधा प्रदान गरेका छन् । प्रविधिमैत्री चिकित्सक र डिजिटल प्रणालीको प्रयोगले सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाएको अस्पतालको दाबी छ ।
अस्पतालका प्रबन्ध निर्देशक पौडेलका अनुसार, सिटी हस्पिटलले विशेष गरी ट्रमा र जटिल शल्यक्रियामा उल्लेखनीय सफलता हासिल गरेको छ । टाउकोमा गम्भीर चोट लागेका बिरामी, ढाड तथा अन्य अङ्गहरूमा एकैपटक चोट लागेका जटिल केसहरूलाई पनि बहु विशेषज्ञ टोलीले सफलतापूर्वक उपचार गरेको उदाहरणहरू प्रशस्त भएको उनले सुनाए ।
यद्यपि, निजी स्वास्थ्य संस्थाप्रति रहेको नकारात्मक धारणा, अवैध क्लिनिकहरूको बढ्दो प्रतिस्पर्धा, नियमनको कमजोरी तथा सरकारी भुक्तानीमा हुने ढिलाइजस्ता चुनौतीहरू अझै विद्यमान रहेको उनको भनाइ छ ।
विशेष गरी डायलायसिस जस्ता सेवामा सरकारले समयमै भुक्तानी नगर्दा आर्थिक दबाब पर्ने गरेको अस्पतालको गुनासो छ । यी सबै चुनौतीका बाबजुद सिद्धार्थनगर सिटी हस्पिटलले आफूलाई एक भरोसायोग्य रेफरल अस्पतालका रूपमा स्थापित गर्दै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको पौडेल दाबी गर्छन् ।
आगामी दिनमा अझ उन्नत प्रविधि, विशेषज्ञ सेवा र शैक्षिक विस्तारमार्फत राष्ट्रिय स्तरकै उत्कृष्ट स्वास्थ्य केन्द्र बन्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको उनले बताए । अस्पतालले उपचारकै क्रममा कतिपय अवस्थामा काठमाडौँ जान नसक्ने अवस्थामा रहेका गम्भीर बिरामीहरूको यहीँ शल्यक्रिया गरी जीवन बचाएको उनले बताए ।
एउटै बिरामीमा टाउको, ढाड, हड्डी तथा अन्य अङ्गहरूमा समस्या हुँदा विभिन्न विशेषज्ञहरूको समन्वयमा सफल उपचार गर्नु यस अस्पतालको ठुलो उपलब्धि मानिएको छ ।
यस अस्पतालमा आउने बिरामीहरूको भौगोलिक क्षेत्र पनि विस्तार हुँदै गएको छ । कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाबाट नियमित रूपमा बिरामी आउने गरेका छन् भने पछिल्लो समय सुर्खेत, दाङ, प्युठान र चितवनबाट समेत जटिल उपचारका लागि बिरामीहरू आउने क्रम बढेको छ ।
यसले अस्पतालको सेवा र विश्वासको दायरा व्यापक बन्दै गएको सङ्केत गर्छ । साथै, लुम्बिनी नजिकै रहेको कारण विदेशी बिरामीहरू पनि हप्तामा दुई–तीन जनाको दरले सेवा लिन आउने गरेका छन् ।
अस्पतालमा करिब २०० जना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी कार्यरत छन् । सबै चिकित्सकहरू फुल–टाइम रूपमा उपलब्ध रहँदै बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित सेवा प्रदान गर्छन् भने आकस्मिक अवस्थामा ‘अन–कल’ सेवा पनि उपलब्ध छ ।
नेपाल तथा भारतका प्रतिष्ठित शिक्षण संस्थाबाट एमबिबिएस, एमडी तथा डीएम गरेका अनुभवी चिकित्सकहरूको टोलीले यहाँ सेवा दिइरहेको छ । दक्ष जनशक्ति र आधुनिक उपकरणको संयोजनले अस्पताललाई जटिल उपचारका लागि सक्षम बनाएको छ । अस्पतालले गुणस्तरीय, छिटो र बिरामी मैत्री सेवा प्रदान गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको छ । सफा, व्यवस्थित वातावरण र बिरामीसँगको राम्रो व्यवहारले सेवाग्राहीहरूको विश्वास जित्न सफल भएको छ ।
पछिल्लो समय न्युरो सर्जरी तथा मुटुसम्बन्धी क्याथ ल्याब जस्ता उन्नत सेवाहरू थपिएसँगै अस्पताल पूर्ण सेवा दिने स्वास्थ्य केन्द्रका रूपमा विकसित हुँदै गएको छ । अहिले यहाँ आउने बिरामीमध्ये केवल ५ देखि १० प्रतिशत मात्रै बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको छ, त्यो पनि मुख्यतया काठमाडौँ वा दिल्लीका ठुला अस्पतालहरूमा ।
यसले सिटी हस्पिटलको उपचार क्षमता, प्रविधि र चिकित्सकको दक्षतालाई प्रमाणित गर्छ । स्वास्थ्य सेवासँगै अस्पतालले शैक्षिक क्षेत्रमा पनि महत्त्वपूर्ण पहल गरेको छ । विगत चार वर्षदेखि सञ्चालनमा रहेको नर्सिङ कलेज यस क्षेत्रकै पहिलो हो, जहाँबाट पहिलो ब्याच उत्तीर्ण भइसकेको छ ।
साथै बीएन, बीएससी नर्सिङ तथा पारामेडिकल कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसले भविष्यमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
अस्पतालका प्रशासक विनोद चापागाईंका अनुसार, विगत पाँच वर्षमा ८९ हजार ३२९ बिरामीलाई सेवा प्रदान गरिएको छ भने गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १८ हजार ७७५ बिरामीले उपचार सेवा लिएका छन् । तीमध्ये हाड जोर्नी तथा नसा रोग सम्बन्धी बिरामीहरूको सङ्ख्या उल्लेख्य रहेको छ ।
करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस अस्पतालले निजी क्षेत्रबाट पनि गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देश दिएको छ ।