© 2026
सल्यान ।
चैते दसैँको अवसर पारेर बिहीबार जिल्लाको कपुरकोट गाउँपालिका–४ किमुचौरमा नवनिर्मित नवदुर्गा भगवती मन्दिर उद्घाटन गरिएको छ । मालारानी टोल विकास संस्थाको पहलमा निर्माण गरिएको उक्त मन्दिरको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले एक कार्यक्रमबिच औपचारिक उद्घाटन गरेका हुन् । सो अवसरमा उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
करिब पाँच लाख ४५ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरिएको मन्दिर टोल विकास संस्था, स्थानीय बासिन्दा, क्लब तथा विभिन्न व्यक्तिहरूको सहयोगमा निर्माण भएको कपुरकोट-४ का वडा अध्यक्ष मित्रलाल कठायतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट मन्दिरमा फिल्ड व्यवस्थापनमा सहयोग गरिएको थियो । मन्दिरसँगै देवी दुर्गा बाघमा चढेको मूर्ति समेत बनाइएको छ ।
मन्दिर उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । बाजागाजा सहितको सांस्कृतिक माहौलमा स्थानीयहरूको उत्साहजनक सहभागिताबिच उद्घाटन सम्पन्न भएको हो ।
टोल विकास संस्थाका अध्यक्ष बाबुजंग शाहीले समुदायको सक्रियता र सहयोगकै कारण धार्मिक तथा सांस्कृतिक महत्वको मन्दिर निर्माण सम्भव भएको बताए । यसैबिच बिहीबार नै कपुरकोट-३ स्थित दक्षिण कालिका मन्दिरको पनि मन्त्री अधिकारीद्वारा उद्घाटन सम्पन्न भएको छ ।