Butwal Today

अग्रिम आयकर कटौतीले राजस्व प्रभावित

१२ चैत्र २०८२, बिहीबार
अ+
अ-

बाँके । नेपालगन्ज भन्सार कार्यालयअन्तर्गत चालु आर्थिक वर्षमा आयात वृद्धि भए पनि अग्रिम आयकर दर घटाइएकाले राजस्व सङ्कलनमा अपेक्षित वृद्धि हुन सकेको छैन ।

आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म आयातमा ५.२८ प्रतिशत वृद्धि भएको छ । तर अग्रिम आयकर कटौती गरिएकाले समग्र राजस्व वृद्धिमा असर परेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

कार्यालयले चालु आर्थिक वर्षका लागि २४ अर्ब ४८ करोड ८७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । हालसम्म १३ अर्ब २७ करोड ३ लाख ६२ हजार रुपैयाँ सङ्कलन भएको छ, जुन लक्ष्यको करिब ५४ प्रतिशत हो ।

फागुन मसान्तसम्मको लक्ष्यअनुसार भने ८१.६ प्रतिशत असुली भएको कार्यालयले जनाएको छ । फागुन महिनामा मात्र २ अर्ब ६० करोड ७५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म १२ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु वर्ष सोही अवधिमा १२ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यसले ९ करोड ४७ लाख रुपैयाँ अर्थात् ०.७५ प्रतिशतको सामान्य वृद्धि देखाएको छ ।

निर्याततर्फ भने गिरावट देखिएको छ । गत वर्षको फागुनसम्म १ अर्ब ९५ करोड ३८ लाख रुपैयाँ रहेको निर्यात चालु वर्ष घटेर १ अर्ब ९३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।

इन्धन आयातमा भने उल्लेख्य वृद्धि भएको छ । डिजेल आयात गत वर्षको तुलनामा ३६ लाख लिटरले बढेको छ भने पेट्रोल आयात पनि २८ लाख लिटरले बढेको छ । ग्यास आयात परिमाणमा वृद्धि भए पनि मूल्यमा भने कमी आएको देखिन्छ ।

भन्सार राजस्वमा कमी आउनुको मुख्य कारण अग्रिम आयकर दर घटाइनु रहेको कार्यालयले जनाएको छ । अघिल्लो वर्षसम्म ३० प्रतिशत रहेको अग्रिम आयकर दर हाल १५ प्रतिशतमा झारिएको छ ।

फलाममा २.५ प्रतिशतबाट १ प्रतिशतमा झारिएको छ भने टायल र विद्युतीय सवारीमा समेत भन्सार दर घटाइएको छ ।
यसरी कर दर घटाउँदा आयात बढे पनि राजस्व सङ्कलनमा अपेक्षित सुधार हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?