© 2026
बुटवल। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले भदौ २३ र २४ गतेको घटना जाँचबुझका लागि बनेको आयोगलाई आफ्नो घरमा रहेको साढे ३ किलो सुनको बिस्कुट हराएको बयान दिएका छन्।
सरकारले सार्वजनिक नगरेपनि बुटवल टुडेलाई प्राप्त प्रतिवेदनको पृष्ठ नम्बर ४६५ मा उल्लेख भएको बयानअनुसार उनले डेढ किलो सुनको गहना र १ करोड पाँच लाख नगद हराएको भनेका छन्।
उनले बुटवल टुडेसँगको कुराकानीमा अरु बयान आफुले दिएको भएपनि सोमालिया बन्दैछ भनेर नभनेको बताए। उनले टेलिफोन कुराकानीमा भने-‘जेनजीको आडमा भएको आन्दोलनमा लुटपाट भएको हो, मेरो घरमा जेनजीले लुटपाट गरेका होइनन्, जेनजीको समूह आएर यो मान्छेले त आफै दान गर्छ सहयोग गर्छ भनेर सांकेतिक रुपमा केही कुर्सी र सोफाहरु जलाएर गएका थिए।’
उनले त्यसबेला कसले लुटपाट र आगजनी गर्यो भन्ने सबै विवरण आफुसँग रहेको र आवश्यक परेमा सरकारलाई उपलब्ध गराउने बताए। ‘सरकारले लुटपाट गर्नेलाई समात्न सक्छ र कारबाही गर्छ भने मसँग सबै प्रमाण छ म दिन्छु, उनी भन्छन्-‘मसँग सबै फोटो छ सरकारले समात्न सक्छ।’
उनले बुवाबाजेदेखिको सम्पत्ति र छोराछोरीको बिहेका लागि राखेको सम्पत्ति लुटिएको बताए। ‘मैले त्यसबेला पनि लोन लिएको थिएँ, त्यही लगेर लोन तिरेको भए बरु बच्ने रहेछ र लोन पनि तिरिने रहेछ, तर छोराछोरीको बिहेका लागि राखेँ, उनले भने-म त्यसबेला भारतमा थिएँ म फर्किँदा मसँग लगाएको ट्राउजर, जुत्ता र कोट थियो, अरु केही थिएन। अहिलेसम्म घरको ढोका लगाउन सकेको छैन। सेयरहरु बेचेर लोन तिर्ने गरिरहेको छु। बैंकमा लोन तिर्ने गरेको छु।’
उनले थपे-‘मेरो घर जलाएर र सम्पत्ति लुटेर लुट्नेको मनमा शान्ति रहन्छ भने ठीक छ, सरकारले कारबाही गरेछ भने गरोस्।’
हेर्नुस् प्रतिवेदनको पृष्ठ नम्बर ४६५ को स्क्रिनसट