Butwal Today

मौसमजन्य रोगको सङ्क्रमण र चुनौती 

११ चैत्र २०८२, बुधबार
अ+
अ-

अहिले हरेक सरकारी तथा निजी अस्पतालमा अहिले मौसमजन्य रोगका बिरामीको प्रकोप फैलिएको छ । खासगरी जाडो सकिएर गर्मी सुरु हुँदैगर्दा मौसमजन्य रोगको सङ्क्रमण यो बर्षमात्रै होइन, हरेक बर्ष बढ्छ । यो बर्षपनि त्यही भएको छ ।

अस्पतालका शैया मौसमी रोगका विरामीले भरिन थालेका छन् । टाईफाईड, ज्वरो, मलेरिया, कालाजार लगायतका रोगको प्रकोप बढिरहेको छ । यी रोगको प्रकोप बढ्दै गर्दा स्वास्थ्य सावधानीमा ध्यान दिनुपर्ने आवश्यकता छ ।

ठिक यही सिजनमा डेँगुको प्रकोपले जनजीवन सन्त्रस्त बनाउने गरेको छ । धेरै रोगको जरो लामखुट्टे हो भन्ने तराईका जनताले बुझ्नु जरुरी छ । लामखुट्टेकै कारण डेंगु हुन्छ । गत बर्ष डेंगु महामारीकै रूपमा देखिएको थियो ।

यो बर्ष फेरी गर्मी सुरु हुँदै गर्दा लामखुट्टेबाट जोगिन जरुरी छ । तसर्थ अवको समय भनेको लामखुट्टेकै टोकाईबाट जोगिनु बाहेक अर्को बिकल्प छैन । मौसमजन्य प्रकोपकै कारण ज्वरो, रुघाखोकी र टाईफाईड लगायतका बिरामी समेत अस्पतालमा बढेका छन् । त्यसमाथि पछिल्लोसमय मलेरियाले आफ्नो प्रभाव बढाउँदै लगेको देखिएको छ ।

चर्को ज्वरो नै प्रमुख लक्षणका रूपमा देखिने यो रोग लामखुट्टेबाट सर्ने र रगतमा यसको असर रहने भएकोले भारतबाट नेपाल फर्केर आउने श्रमजीवी नेपालीसँगै भित्रिईरहेको छ । भारतमा रोजगारीका लागि निर्विकल्पजस्तो मुगलानको रोजाई सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखिएको छ । अहिले भारतबाट आउने नेपालीहरूमा मलेरियासंगै ज्वरोको सङ्क्रमण बढिरहेको छ । चिकित्सकहरूका अनुसार नेपाल फर्किनेहरूमा मलेरियाको सङ्क्रमण बढी देखिन्छ ।

तसर्थ नेपाल प्रवेश गर्नेहरूले रोगको सङ्क्रमण परिक्षण गरेरमात्रै आउनुपर्ने अवस्था देखिएको छ । किनभने सङ्क्रमण भोलिको दिनमा अझै बढ्न सक्छ । खासगरी भारतबाट आउने नेपालीमा विभिन्न सङ्क्रमण देखापर्दै आएको छ ।

युवा तथा अन्य उमेर समूहका लागि रोजगारीको मुख्य गन्तव्य रहेको भारत हजारौं बेरोजगार नेपालीका लागि आकर्षणको गन्तब्य बनेको छ तर रोगहरूको भकारी पनि भारत बन्दैछ । खासगरी कर्णाली, सुदूरपश्चिम तथा नेपालका अन्य क्षेत्रमा बसोबास गरिरहेका नेपाली भारतमा रोजगारीका लागि जान्छन ।

विदेशमा केही थोरै पैसा भए पनि कमाएर ल्याउँदा घरपरिवारको आर्थिक गर्जो त टर्नेगर्छ, तर पैसा लिएर आउँदा त्योसँगै रोगहरू पनि आउने हुँदा पूर्व सतर्कता जरुरी छ । नेपालमा चार बर्षअघि कोरोना फैलिँदा भारतबाट आउने नेपालीलाई आईसोलेसनमा राख्नुपर्ने बाध्यता थियो । अहिले त्यो अन्त्य भएको छ तर कुनैपनि दिन फेरी कोरोनाको सङ्क्रमण देखिएको अवस्थामा भारतबाट आउनेहरू अहिलेदेखि नै सचेत हुनु जरुरी हुनेछ ।

मौसमजन्य रोगको प्रकोप नियन्त्रणमा पनि भारतबाट आउनेहरूको संख्यामा कमी आएमा सङ्क्रमण समेत न्यून हुने भएकोले अहिलेदेखि नै सतर्कता सावधानीको सर्त हो ।

अहिले मौसमजन्य रोग दैनिकरूपमा बढिरहेकोले यस्ता जोखिमबाट जोगिन स्वास्थ्य सावधानीको उपाय प्रयोग गर्नु जरुरी छ । पछिल्लोसमय तराईमा डेंगु मानवका लागि जोखिमका रूपमा देखापरिरहेको छ ।

त्यसपछि मलेरिया अर्को प्रमुख स्वास्थ्य समस्या बन्दैछ । ती सवै लामखुट्टेकै टोकाईका कारण हुने भएकोले अवको ध्यान लामखुट्टेबाट बच्नेतर्फ हुनु आवश्यक छ ।

अर्कोतर्फ अहिले प्रकोपकै रूपमा देखिएको मौसमजन्य रोग ज्वरोले धेरैलाई गिजोलेको छ । धेरै नेपालीको समस्याका रूपमा अहिले आँखाका गेडी झर्नेगरी टाउको दुखाई बढिरहेको गुनासो छ ।

तसर्थ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुरोधलाई नजरअन्दाज नगरौं । स्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिऔं । अनिवार्यरूपमा मास्कको प्रयोग गरौं । विशेषगरी विभिन्न देशबाट स्वदेश फर्किने नेपालीहरूसंगको सम्पर्कलाई थोरै दिनका लागि भएपनि टाढा बनाउँ । यी स्वास्थ्यका सावधानी अपनाउनु पर्ने जरुरी भैसकेको छ ।

त्यसतर्फको सजगता अव आवश्यक छ । लामखुट्टेबाट सावधानी अपनाएमा तराईमा हुने धेरै रोगको जोखिमबाट बच्न सकिने भएकोले अवको ध्यान लामखुट्टे भगाउनेतर्फ जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?