© 2026
दाङ । दाङको घोराही उपमहानगरपालिका – ३ वर्गदुवामा अवस्थित सञ्जीवनी टिचिङ अस्पतालले चैत्र ११ गते( आज)बाट एमआरआई सेवा प्रारम्भ गरेको छ ।
अस्पतालका रेडियोलोजी विभाग प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. जेशन केसीले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको नेपालमै पहिलो हिलियम फ्री अत्याधुनिक स्क्यान क्षमता भएको मेशिन रहेको बताए ।
यसमा डिप रिजोल्भ भन्ने एआई टेक्नोलोजि प्रयोग हुन्छ जसको कारण स्क्यान समय छिटो र इमेज गुणस्तर राम्रो बनाउँछ ।”यसमा मुटुको एमआरआई गर्दा अटोमेटेड पोजिसनीङ हुने हुँदा छिटो र इमेज गुणस्तर राम्रो आउँछ, उनले भने।
” अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमता भएको सिटी स्क्यान मेशिन पनि उपलब्ध रहेको उनले जानकारी दिए । यो मेसिनमा टिन फिल्टर प्रयोग भएको हुँदा नचाहिने रेडिएसन रोकिने र चाहिने रेडिएसन मात्र प्रयोग हुने भएका कारण मेशिनले कम रेडिएसनमा पनि राम्रो इमेज निकाल्छ । मेशिनमा एआई प्रविधिको प्रयोग गरी कम रेडिएसनमा उच्च गुणस्तरको इमेज निकाल्न सकिन्छ ।
हाल उक्त विभागमा डिजिटल एक्स-रे, भिडियो एक्स-रे, मेमोग्राफि, सिटी स्क्यान र एमआरआई सेवा उपलब्ध छन् । एमआरआई सेवा सुरु भएबाट अब साबिक राप्ती र आसपासका जिल्लाका बिरामीहरू दाङमा नै रेडियोलोजीका सम्पूर्ण सेवाहरू लिन सक्नेछन् ।
अस्पतालका सिइओ दीपक रोकाले दाङ , सल्यान , रुकुम , रोल्पा र प्युठान लगायत क्षेत्रका बिरामीको लागि अत्याधुनिक प्रविधिको एमआरआई, सिटी स्क्यान लगायतका सेवाहरू प्रदान गर्न पाएकोमा खुसी भएको बताए ।
स्थानीय स्तरमा गुणस्तरीय सेवा पाउन थालेपछि यहाँका नागरिक खुसी भएका छन् ।