© 2026
नवलपरासी । भारतको पटक–पटक हुने अतिक्रमणको समस्याले चर्चामा रहने नवलपरासीको सुस्ता क्षेत्रका लागि सौर्य ऊर्जा अब आर्थिक स्रोतको रूपमा स्थापित हुन थालेको छ ।
सौर्य ऊर्जा प्लान्टबाट उत्पादित विद्युत् बिक्री गरी सुस्ता गाउँपालिकाले आय आर्जन गर्न थालेपछि स्थानीय तहलाई थप आर्थिक राहत पुगेको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ‘उज्यालो सुस्ता अभियान’ अन्तर्गत स्थापना गरेको सौर्य ऊर्जा आयोजना हाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । यससँगै सो प्लान्टको सञ्चालन, व्यवस्थापन तथा आम्दानीको अधिकार पनि गाउँपालिकाले पाएको छ ।
गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार, सौर्य ऊर्जा प्लान्टबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिँदै आएको छ ।
यसबाट प्राप्त रकम गाउँपालिकाको आन्तरिक स्रोतमा समावेश हुने गरेको छ । “प्राप्त आम्दानीलाई स्वास्थ्य चौकी, विद्यालय, वडा कार्यालयजस्ता सार्वजनिक संस्थाको विद्युत् महसुल व्यवस्थापनमा प्रयोग गरिएको छ,” उनले भने ।
हाल उक्त सौर्य प्लान्टबाट दैनिक करिब ४ सय युनिट विद्युत् उत्पादन भइरहेको छ भने वार्षिक उत्पादन करिब एक लाख युनिट पुग्ने अनुमान गरिएको छ । प्लान्टको नियमित सञ्चालन र मर्मतका लागि गाउँपालिकाले कर्मचारी नियुक्त गरी व्यवस्थापनलाई व्यवस्थित बनाएको छ ।
यसअघि सौर्य ऊर्जाबाट मात्र विद्युत् आपूर्ति हुँदै आएको सुस्तामा अहिले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुगेपछि स्थानीयले उच्च भोल्टेजका उपकरण, मोटर तथा साना उद्योग सञ्चालन गर्न सक्ने भएका छन् । यसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ ।
सुस्तामा करिब ३५० घरधुरीमा विद्युत् पहुँच पुगेको छ । नागरिकता भएका सबै घरधुरीमा मिटर जडान गरिएको छ भने अन्यले सहमिटरमार्फत विद्युत् प्रयोग गर्दै आएका छन् ।
साथै, नारायणी नदी पार गरेर झोलुङ्गे पुलमार्फत प्रसारण लाइन विस्तार गरिएको हो । करिब १ करोड ३० लाख रुपैयाँ लागतमा सम्पन्न उक्त विद्युतीय परियोजनाले सुस्तालाई राष्ट्रिय ग्रिडसँग जोडेको छ । यसअघि १०० किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणालीबाट मात्र विद्युत् आपूर्ति हुँदै आएको थियो ।
सुस्तामा पूर्वाधार विकासका अन्य कार्यहरू पनि अगाडि बढिरहेका छन् । एसियाकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण भई सञ्चालनमा आएको छ भने सहिदहरूको सम्झनामा पार्क निर्माण कार्यसमेत भइरहेको छ ।
यी पूर्वाधारहरूले भविष्यमा सुस्तालाई पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण केन्द्र बनाउने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले देशभर गुणस्तरीय र भरपर्दो विद्युत् सेवा विस्तार गर्ने लक्ष्यअनुसार हाल करिब ९९ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगिसकेको छ ।
बाँकी विकट बस्तीहरूमा समेत विद्युत् पु¥याउने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ ।