Butwal Today

सौराहामा ‘फुड फेस्टिभल’ यही चैत १२ गतेदेखि

११ चैत्र २०८२, बुधबार
अ+
अ-

चितवन ।  पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिभल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पु¥याइएको जानकारी दिएको छ । सौराहाको गैँडाचोकस्थित छत्री स्ट्रिटमा महोत्सव आयोजना गर्न लागिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए ।

‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको फेस्टिभलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । यसअघि प्रणय दिवसका अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो । सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको महोत्सवका संयोजक कृष्णप्रसाद खतिवडाले बताए ।

उन्नाइस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिभलले चितवनको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।

महोत्सवका प्रमुख आकर्षणहरूमा बहु जातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै ‘वेटर–वेट्रेस’ प्रतियोगिता रहने संयोजक खतिवडाले जानकारी दिए ।

महोत्सवका लागि रु  ६० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सव अवधिमा करिब रु एक करोड कारोबार हुने अपेक्षा गरिएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?