© 2026
पाल्पा । तानसेन नगरपालिकाले रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरहरूको बन्ध्याकरण अभियान सुरु गरेको छ । नगर सरकारको वार्षिक कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि यस कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ ।
नेपाल सरकारले सन् २०३० सम्म रेबिज रोगलाई विश्वबाट उन्मूलन गर्ने महासन्धिमा हस्ताक्षर गरेको कारण सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम कार्यान्वयन गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताइन् । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले यस्तै कार्यक्रम निस्दी गाउँपालिकामा पनि सञ्चालन गरिएको जानकारी दिए ।
तानसेन नगरपालिकाले प्राविधिक तथा अनुसन्धानात्मक कार्यलाई युवा समूहको सहकार्यमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको हो । युवा समूहका डा. अबिनाश क्षेत्रीले लुम्बिनी प्रदेशमा रेबिज संक्रमण दर उच्च रहेको बताए ।
कुकुरको प्रजनन क्षमतामा नियन्त्रण नगर्दा पछिल्ला वर्षहरूमा छाडा कुकुरहरूको संख्या बढ्दै गएको र आहाराको अभावका कारण किसानले पालेका कुखुरा तथा बाख्रामा आक्रमण भई क्षति हुने गरेको तानसेन नगरपालिकाका पशु शाखा प्रमुख विशाल बस्यालले बताए ।