Butwal Today

मलेसियामा साथीको चक्कु प्रहारबाट सल्यानका युवकको ज्यान गयो

११ चैत्र २०८२, बुधबार
अ+
अ-

सल्यान । मलेसियामा वैदेशिक रोजगारीमा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट ज्यान गएको छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका वडा नम्बर, ३ दमारखोला घर भएका २१ वर्षीय वेद बहादुर बुढा रहेका छन् । उनी दाङको पाते टाकुरामा बसोबास गर्दै आएका थिए र रोजगारीका लागि करिब दुई वर्ष अघि मलेसिया पुगेका थिए ।

युवकको मृत्युको पुष्टि भैसकेको भन्दै कपुरकोट, ३ का वडा अध्यक्ष प्रदीप खड्काले उनलाई चक्कु प्रहार गर्ने व्यक्ति रोल्पाको गंगादेव गाउँपालिका–३ का करिब २५ वर्षीय युवक रहेको बताए । घटनापछि उनलाई मलेसियाको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मलेसियाको पेराक राज्यमा रहेका कपुरकोट–६ का लालजित खड्काका अनुसार घटना पेनाङ राज्यमा भएको हो । उनले त्यहाँको प्रहरीले घटनाबारे आफ्नो आधिकारिक वेबसाइटमार्फत विवरण सार्वजनिक गरेको जानकारी दिए ।

यता मृतकका आफन्तले पनि घटनाको पुष्टि गरेका छन् । वडा अध्यक्ष खड्काका अनुसार परिवारलाई जानकारी भइसकेको र शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

घटनाको कारण खुलेको छैन । प्रारम्भिक रूपमा आपसी विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो घटना गत आइतबार मलेसियाको स्थानीय समय अनुसार राती करिब साढे ९ बजेतिर भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?