Butwal Today

नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

११ चैत्र २०८२, बुधबार
अ+
अ-
काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्‍याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आजसम्म विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी बिक्रीवितरणको तयारी सुरु गरेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको नियमित जिम्मेवारीलाई जनक शिक्षा सामग्री केन्द्रले बहन गरेकाले विद्यार्थीले पाठ्यपुस्तकको अभाव खेप्नु नपर्ने सम्बद्ध अधिकारीले बताएका छन् । निजी क्षेत्रका मुद्रकले पनि तोकिएको जिम्मेवारीअनुसार सबै पाठ्यपुस्तक छपाइ भएको जनाएका छन् ।
जनक शिक्षा केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक छपाइ कार्य हुँदै आएकाले शैक्षिकसत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने प्रबन्ध गरिएको बताए । मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको कामलाई समानान्तर रूपमा गरेको केन्द्रले शैक्षिकसत्र २०८३ का लागि  एक हजार २६० अधिकृत विक्रेता चयन गरेको छ भने यही चैत १५ र १६ गतेदेखि बिक्रीको तयारी गरेको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार केन्द्रलाई तोकिएका कक्षाहरूका लागि करिब ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषयसमेत गरी कुल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य रहेकामा अधिकांश पुस्तक छपाइ भइसकेको छ । केही पुस्तकहरूको सेट मिलाउन बाँकी रहेकाले उक्त कार्य पूरा भएपछि धमाधम बिक्री सुरु हुने उनको भनाइ छ । केन्द्रले तोकिएको कक्षाहरूका लागि ३८ अनिवार्यसहित १६० विषयका पाठ्यपुस्तक उत्पादन गरिसकेको छ । केन्द्रले यही चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुने पाँच लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र पनि उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकेको छ ।
सरकारले हाल कक्षा १, २ र ४ बाहेक कक्षा १२ सम्मका लागि आवश्यकपर्ने पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा केन्द्रलाई दिएको छ । कक्षा १, २ र ४ को निजी क्षेत्रका मुद्रणलाई जिम्मा दिइएको छ । केन्द्रले कक्षा ११ र १२ का लागि चाहिने पाठ्यपुस्तक आगामी असार महिनासम्म मुद्रण गर्छ । यसअनुसार ७० प्रतिशत उत्पादनको हिस्सा जनक शिक्षा र ३० प्रतिशत भार निजी क्षेत्रको मुद्रणमा पर्छ । निजी प्रेसले अधिकार पाएकोभन्दा अतिरिक्त तहका लागि पाठ्यपुस्तक छापेर बिक्री गर्दा केन्द्रलाई घाटा लाग्ने गरेको छ ।
गत शैक्षिक सत्रमा आफूले छापेका कक्षा ३ र ५ का पाठ्यपुस्तक ३० प्रतिशत मात्रै बिक्री भई अन्य पुस्तक सञ्चित रहेको प्रबन्ध सञ्चालक पौडेलले बताए । पाठ्यपुस्तक छाप्न निजी क्षेत्रको मुद्रणको जिम्मेवारी प्राप्त सात प्रेसका संयोजक दीपक भण्डारीले आफूहरूलाई सीमित कक्षाका लागि मात्रै जिम्मेवारी दिइएको र तोकिएको सङ्ख्यामा छपाइ भइसकेको बताए । उनले जनक शिक्षालाई सुरक्षित मुद्रणका रूपमा रूपान्तरण गरी आफूहरूलाई सरकारले सबै कक्षाका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी दिए पनि बहन गर्नसक्ने गरी प्रेस खरिद गरेकाले यसबारे नीतिगत निर्णय हुनुपर्ने धारणा राखे ।
पाठ्यपुस्तक बिक्री बापत जनक शिक्षाले नौ प्रतिशत र निजी क्षेत्रले ३० प्रतिशतसम्म बिक्रेतालाई कमिसन दिन्छन् । निजी क्षेत्र सञ्चालक भण्डारीले नौ प्रतिशत मात्रै कमिसनमा बेच्दा जनक शिक्षा झन् नाफामा जानुपर्ने तर्क गर्दै निजी प्रेसको लगानी धरासायी हुन नदिन राज्यले सबै कक्षाका पाठ्यपुस्तक छपाइको जिम्मेवारी खुला गर्नुपर्ने माग गरे। जनक शिक्षाका प्रबन्ध सञ्चालक पौडेलले विगतमा मेसिनको अभावले पाठ्यपुस्तक अभावका कारण आवश्यक मात्रामा निजी क्षेत्रको सहयोग लिइएकामा अहिले मेसिन लगायत पूर्वाधार क्षमता भएको तथा केन्द्रको प्रबन्धपत्रबमोजिम एकलौटी रूपमा केन्द्रले नै सबै कक्षाका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाउनुपर्ने बताए ।
जनक शिक्षा र निजी प्रेसले पाठ्यक्रम विकास केन्द्रबाट विकसित मुद्रणीय प्रतिलाई उत्पादन गर्दै आएको छन् । पाठ्यक्रम विकास केन्द्रले शैक्षिकसत्र २०८३ का लागि विसं २०७७ देखि लागू गरिएको पाठ्यपुस्तकको मूल्यसूची कायम गरेको छ । निजी क्षेत्र पनि पुरानै मूल्यमा बिक्री गर्न तयार भएकोे छ । नीतिगत निर्णय भई जिम्मेवारी दिइएको विषयमा जनक शिक्षा र निजी प्रेसबीच अधिकारको अतिक्रमण हुनुले बजारमा असन्तुलन हुने पनि गर्छ । यसले कुनै कक्षाका पाठ्यपुस्तक अभाव र कुनै कक्षाका पाठ्यपुस्तक चाहिनेभन्दा बढी उत्पादन हुन सक्ने हुन्छ । मूल्यसूची र गुणस्तरमा पनि एकरूपता हुँदैन । शिक्षा मन्त्रालयले यस्ता विषयको अनुगमनको जिम्मेवारी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई दिएको छ ।
केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले हालसम्म के–कति पाठ्यपुस्तक तयारी भयो र कहिलेसम्म लक्ष्य पूरा हुन्छ भनेर जनक शिक्षा केन्द्र र निजी प्रेसबाट जिम्मेवारीप्राप्त सात मुद्रणलाई पत्राचार गरिएको जानकारी दिए। जनक शिक्षा केन्द्रले गत माघमा निर्वाचन आयोगको कार्यादेशबमोजिम सम्पन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार र समानुपातिकतर्फ दुई करोड आठ लाख ४३ हजार गरी चार करोड ११ लाख ४३ हजार मतपत्र छपाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?