© 2026
गुल्मी ।
धुर्कोट गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न तयारी थालेको छ। पालिकाले १ र २ दुईवटा वडा घोषणा गरिसकेको छ भने वडा नं. ६ रजस्थल र वड नं. ५ वस्तु घोषणा गर्न तयारीमा छ। जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीको टोलीले सूचकको अबस्था बारे, अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले वडाहरूमा बालबालकहरूको पहुँच, सेवा–सुविधा र पालिकाका कार्यहरूको अवस्था जाँच गरेको थियो। निरीक्षणका क्रममा बालबालीकाहरुको पालिकामा पहुँच बढेको र पालिकाले प्रदान गर्ने सेवा–सुविधा तथा कार्यक्रमहरू समेत जानकारी पाएको बताएका छन्। साथै, बालबालीकाको विकासका लागि आधारभूत तथा सामाजिक विकास आवश्यक रहेको उल्लेख गरेका छन्।
बालमैत्री स्थानीय शासनका लागि ५१ वटा सूचक पूरा गर्नु पर्ने नियम छ। यी सूचकमा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका मापदण्डहरू समावेश छन्। धुर्कोट गाउँपालिकाले यस अभियानका लागि पालिका स्तरिय बालसञ्जाल सातै वडामा गठन गरी कार्यक्रम सञ्चालन गरिरहेको छ। आवश्यक ५१ सूचक पूरा गरेपछि मात्र वडाहरूलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिनेछ।
धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले गुल्मी जिल्लामै पहिलो नमूना काम धुर्कोटले सुरु गरेको दाबी गरेका छन्। उनले गाउँपालिकाले बालबालिकाको हक, अधिकार र समग्र विकासलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। अध्यक्ष पोखरेलका अनुसार धुर्कोट गाउँपालिका अहिले पूर्ण बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीमा रहेको छ। यसका लागि आवश्यक सूचकहरू पूरा गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको उनले जानकारी दिए।
गाउँपालिकाले वडास्तरदेखिनै बालमैत्री वातावरण निर्माण, बाल संरक्षण, शिक्षा, स्वास्थ्य तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। उनले आगामी जेठ महिनासम्म सबै आवश्यक मापदण्ड पूरा गरी धुर्कोट गाउँपालिकालाई पूर्ण बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको स्पष्ट पारे। साथै, यस अभियानले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्नुका साथै समग्र समाजको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीका अनुसार, बालमैत्री स्थानीय शासन निर्देशिका, २०७८ अनुसार २०८७ सालसम्म सबै पालिकामा तोकेका सूचक पूरा गरी बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य राखिएको छ। निर्देशिकामा बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकासका ६, बाल सहभागिताका ६ र संस्थागत विकासका १५ गरी ५१ वटा सूचक उल्लेख गरिएको छ।
सरकारले अनुगमनका चरण पूरा गरी तोकिएको सूचकहरू पूरा गरेपछि मात्रै ती पालिकामा बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने व्यवस्था निर्देशिकामा समावेश गरिएको छ। धुर्कोट गाउँपालिका वडाहरूमा बाल संरक्षण, विपन्न तथा आश्रित बालबालिकासँग सरकारसँगको पहुँच, बालबालिकासँग सूचना पहुँच, बालबालिकाका लागि वडाबाट छुट्याइएको बजेट, बालमैत्री नीतिहरूको निर्माण र कार्यान्वयन, वडास्तरमा बाल संरक्षण समितिको गठन जस्ता मापदण्डहरू राखिएका छन्। धुर्कोटका सबै वडाहरू यस अभियानमा आर्थिक वर्षको सुरुदेखि नै बालमैत्री वातावरण निर्माणमा सक्रिय रहेको छ ।