Butwal Today

सन्दर्भः विश्व क्षयरोग दिवस ६ वर्षमा ४६ को मृत्यु

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

सल्यान । देशभर क्षयरोग नियन्त्रणका प्रयास भइरहेका बेला सल्यानमा भने नयाँ बिरामीको सङ्ख्या घट्न सकेको छैन । पछिल्ला वर्षहरूको तथ्याङ्कले उपचार सफलता दर उच्च भए पनि नयाँ सङ्क्रमितको पहिचान बढ्दै गएको देखाएको छ । यसले क्षयरोग नियन्त्रण अझै चुनौतीपूर्ण रहेको सङ्केत गर्दछ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०८२/०८३ चैतको अहिलेसम्म अर्थात् आठ वर्षको अवधिमा जिल्लामा एक हजार ७२८ जना क्षयरोगका बिरामी पहिचान भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा २०४ जना क्षयरोगका बिरामी फेला परेकामा त्यसपछिको वर्ष २०७६/०७७ मा घटेर १६४ पुगेको थियो ।

तर त्यसयता भने बिरामी सङ्ख्या पुनः बढ्दो क्रममा देखिएको छ । आ.व. २०७७/०७८ मा १७६, २०७८/०७९ मा २६१, २०७९/०८० मा २४६, २०८०/०८१ मा २६३ र २०८१/०८२ मा २७१ जना बिरामी फेला परेको कार्यालयका सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन थलराज डिसीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्रै १४३ जना बिरामी पहिचान भइसकेका छन् ।

बिरामीको पहिचान बढ्नु सकारात्मक:
यद्यपि क्षयरोगका बिरामी सङ्ख्या बढ्दो देखिए पनि यो चिन्ताजनक भन्दा बढी पहिचान सुधारिएको सकारात्मक सङ्केत भएको चिकित्सकहरू बताउँछन् ।

जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन कुमार बुढाका अनुसार विगतमा धेरै सङ्क्रमित रहे पनि पहिचान हुन नसक्दा तथ्याङ्क कम देखिन्थ्यो । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठन ले पनि नेपालमा क्षयरोगका धेरै सङ्क्रमित लुकेर रहेको औँल्याउँदै आएको छ ।

“पहिले परीक्षणको पहुँच सीमित थियो, अहिले स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय र सहयोगी संस्थाको सक्रियताले परीक्षण बढेको छ, त्यसैले बिरामी पनि बढी फेला पर्नुभएको हो” उनले भने ।

डाक्टर बुढाले अहिले जिल्लामा परीक्षणको दायरा विस्तार भएको बताए । “पहिले खकार परीक्षण जिल्ला सदरमुकाममा मात्र हुन्थ्यो, अहिले विभिन्न स्वास्थ्य संस्थामा नमुना सङ्कलन हुन्छ र परीक्षणका लागि पठाइन्छ,” उनले भने, “यसले ग्रामीण क्षेत्रका बिरामी पनि पहिचानमा आएका छन् ।”

उनका अनुसार सक्रिय खोजी अभियान, स्क्रीनिङ शिविर तथा एआई प्रविधियुक्त एक्स–रेको प्रयोगले पनि सम्भावित बिरामी पहिचानमा सहयोग पुगेको छ । “अहिले धेरै परीक्षण भइरहेको छ, तर अझै विस्तृत रूपमा डिटेक्सन गरेर प्रारम्भिक चरणमै व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,” उनले भने ।

पछिल्लो तीन आर्थिक वर्ष अर्थात् २०८०/०८१ देखि २०८२/०८३ को हालसम्मको विवरण अनुसार सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकामा १२३ जना बिरामी फेला परेका छन् । त्यसपछि शारदा नगरपालिकामा ८७ र कपुरकोट गाउँपालिकामा ८३ जना बिरामी भेटिएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले बताउँछ ।

यस्तै यो तीन वर्षको अवधिमा त्रिवेणी गाउँपालिकामा ७९, कालिमाटी गाउँपालिकामा ७७, बनगाड कुपिन्डे नगरपालिकामा ७३, बागचोर नगरपालिकामा ६२, दार्मा गाउँपालिकामा ४२, सिद्धकुमार गाउँपालिकामा ३६ र कुमाख गाउँपालिकामा सबैभन्दा कम १० जना बिरामी फेला परेका छन् ।

छ वर्षमा ४६ जनाको मृत्यु तर उपचार सेवा प्रभावकारी:
क्षयरोगबाट हुने मृत्युको सङ्ख्या छ वर्षको अवधिमा ४६ जना रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा पाँच जनाको मृत्यु भएकोमा २०७८/०७९ मा सात, २०७९/०८० मा नौ र २०८०/०८१ मा १३ जनाको मृत्यु भएको तथ्याङ्क छ । २०८१/०८२ मा नौ जनाको ज्यान गएको छ भने चालु आवको हालसम्म तीन जनाको क्षयरोगले गर्दा मृत्यु भइसकेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन थलराज डिसीका अनुसार गत आर्थिक वर्षमा उपचार सफलता दर ९४ प्रतिशत रहेको छ । “उपचार सेवा प्रभावकारी देखिएको छ ।

यद्यपि बिरामीको पहिचान समयमै गर्न र सङ्क्रमण रोक्न सबै लाग्नुपर्दछ,” उनले भने । जिल्लाभर ५८ वटा क्षयरोग उपचार केन्द्र (डट्स सेन्टर) मार्फत क्षयरोगका बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध भइरहेको डिसीले जनाए ।

सर्ने तरिका र बच्ने उपाय:
डाक्टर बुढाका अनुसार क्षयरोग मुख्य रूपमा श्वासप्रश्वासको माध्यमबाट सर्ने सङ्क्रामक रोग हो । जुन सङ्क्रमित व्यक्तिको नजिक लामो समय बस्दा वा सासमार्फत सर्न सक्छ ।

त्यसैले सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा रहँदा सावधानी अपनाउनुपर्ने उनले बताए । “यस रोगको लक्ष्यण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउन हामीले आग्रह गरिरहेका छौँ”, उनले भने, “नियमित औषधि सेवन र निगरानी भएमा यो रोग निको हुन्छ ।”

उनले क्षयरोगबाट बच्नका लागि लगातार दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त परीक्षण गराउन, सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्क कम गर्न, भिडभाडयुक्त ठाउँमा सतर्क रहन, धूम्रपान, अत्यधिक मदिरा सेवन, कुपोषण र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा जोखिम बढी हुने भएकाले यसतर्फ ध्यान दिन डा. बुढाको सुझाव छ ।

विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुने पनि उनले जनाए । जिल्लामा पनि सचेतनाको कार्यक्रम तय गरिएको छ भने विभिन्न पालिका र वडाहरूमा जनचेतना अभिवृद्धि, परीक्षण प्रोत्साहन तथा रोग नियन्त्रणका गतिविधि सञ्चालन हुँदै छन् ।

विशेषज्ञहरूका अनुसार गरिबी, कुपोषण, भिडभाडयुक्त बसोबास, स्वास्थ्य सेवामा पहुँचको कमी र ढिलो परीक्षण जस्ता कारणले क्षयरोग नियन्त्रण चुनौतीपूर्ण बन्ने गरेको छ । त्यसैले उपचारसँगै सक्रिय खोजी, जनचेतना र समुदाय स्तरीय सहभागिता बढाउनु अपरिहार्य देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?