Butwal Today

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ । खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिदिएका छन् ।

विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरूले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका निर्देशक डा मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकाले महिलाहरूको आर्थिक, सामाजिक, शैक्षिक र समग्र विकास प्रभावित भएको बताए ।

उनले अझै  पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानी देखि घरेलु काममा उपयोगमा गरिने पानी सङ्कलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकाले छोरीहरूको पढाइ र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको बताए ।

उनले पानी सङ्कलनका क्रममा महिलाहरूले हिंसा पनि सहनु परेको उल्लेख गर्दै भने, “दलित महिलाहरूको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछूतको विभेद भनिसाध्य छैन ।”

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरूको विकासको बाधक भएको बताइन् ।

उनले केही प्रदेशका केही पालिकाहरूमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकाले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरूको आर्थिक–सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताइन् ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात् गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताए ।

पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग, पेसा, समुदाय र उमेर समूहका नागरिकका लागि सुख तथा समृद्धिको माध्यम र परिचायक भएको बताए । “जस कहाँ पानी बढी छ, त्यो धनी छ । पानी नहुने गरिब छ । पानीले धनी बनाउन सक्छ”, उनले भने । उनले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्य र किफायतीपन महत्त्वपूर्ण भएको उल्लेख गरे ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा सुनिलबाबु श्रेष्ठद्वारा सञ्चालित बहसमा विज्ञ, नीति निर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीको क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरूले आ–आफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताएका थिए ।

कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले स्वागत मन्तव्य गर्नुभएको थियो भने समापन मन्तव्य वाटर एड, नेपालका कविन्द पुडासैनीले गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो । यस वर्षको पानी दिवस पानी र महिला विषयमा केन्द्रित छ । यस वर्षको नारा जहाँ ‘पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ’ भन्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?