Butwal Today

मञ्जुश्री सहकारीको ठगी: गरिबको पसिनामाथि रजाइँ

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिका–११, पवित्रनगरकी बालिका दर्जीको दैनिकी एउटा सानो ठेलागाडाबाट सुरु हुन्छ ।

दिनभरि सडकको किनारामा बसेर खानेकुरा बेच्दा आउने केही थान नोटहरू नै उनको परिवारको प्राण धान्ने आधार हुन् । घामपानी नभनी पसिना बगाएर कमाएको पैसाबाट उनले भविष्यका लागि एउटा सानो सपना बुनेकी थिइन्– अलि धेरै बचत भएपछि व्यवसायलाई ठुलो बनाउने ।

छिमेकीको सल्लाहमा उनले बुटवलको कालिकानगरमा शाखा रहेको “मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था” मा बचत गर्न थालिन् । महिनाको ३ हजार रुपैयाँसम्म जोगाएर उनले ४० हजार रुपैयाँ जम्मा पारिन् । तर, अहिले बालिकाका ती सपनाहरू मात्र होइन, उनले गाँस काटेर जम्मा गरेको साँवा रकम समेत धुलोमा मिसिएको छ ।

“बचत लिन कर्मचारी आफैँ ठेलासम्म आउँथे, कतै जानु नपर्ने भएपछि ढुक्क भएँ,” बालिका गहभरि आँसु पार्दै भन्छिन्, “अहिले त व्यवसाय चलाउने पुँजी पनि छैन । सहकारी भाग्यो भन्छन् । हामी जस्ता गरिबको पसिना खानेलाई सरकारले किन सजाय दिँदैन ? मेरो ४० हजार रुपैयाँ मेरा लागि लाखौँ बराबर थियो ।”

बालिका दर्जी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । फूलबारीकी पुजन घिमिरेको व्यथा पनि उस्तै छ । उनका श्रीमान् दिनभर बिजुली पसलमा पसिना बगाउँछन् । श्रीमानले कमाएको पैसाबाट घर खर्च चलाएर उब्रिएको सय–दुई सय रुपैयाँ जोगाएर पुजनले मञ्जुश्रीमा २५ हजार रुपैयाँ जम्मा गरेकी थिइन् ।

संस्थाका सञ्चालक को हुन्, कार्यालय कहाँ छ भन्ने समेत थाहा नपाई उनले साथीको विश्वासमा भर परेर पैसा सुम्पिइन् । “साथीले धेरै अघिदेखि बचत गरेको देखेर विश्वास गरेँ, तर ठुलो धोका भयो,” पुजन भन्छिन् । अहिले न साथीसँग जवाफ छ, न सहकारीको अत्तोपत्तो ।

जदुरी गरेर जीवन धान्ने लक्ष्मण विकको पीडा झनै मर्मस्पर्शी छ । दैनिक ज्यालादारीमा इट्टा र बालुवा बोकेर कमाएको पैसाबाट उनले दैनिक ३ सय रुपैयाँका दरले सहकारीमा बुझाउँथे । बिरामी पर्दा वा समस्या आइपर्दा गर्जो टार्न सजिलो होला भनेर जम्मा गरेको १५ हजार रुपैयाँ अहिले बालुवामा हालेको पानीजस्तै भएको छ ।

लक्ष्मण भन्छन्, “धनीमानीका लागि १०–१५ हजार सानो रकम होला, तर मेरो लागि यो रातदिन इट्टा बोकेर कमाएको रगत–पसिना हो । हाम्रो आवाज कसले सुनिदिने ?”

सोही गाउँका अन्य न्यून आय भएका महिलाहरूको अवस्था पनि उस्तै छ । कविता दर्जीको ३० हजार, बबिता दमाईको १२ हजार ६ सय, लालबहादुर दर्जीको १८ हजार र जमुना परियारको ६ हजार रुपैयाँ सोही सहकारीले निलेको छ । थोरै–थोरै बचत गरेर आर्थिक रूपमा सबल बन्ने यी विपन्न वर्गका नागरिकहरूको सानो आशालाई मञ्जुश्रीका सञ्चालकहरूले निर्ममतापूर्वक कुल्चिएका छन् ।

सहकारी अभियन्ता सुखदेव न्यौपानेका अनुसार सदस्य बन्नुअघि संस्थाको सञ्चालक को हुन्, उनीहरूको पृष्ठभूमि कस्तो छ र संस्थाको मुख्य कार्यालय कहाँ छ भन्ने नबुझ्दा यस्ता समस्या निम्तिएका हुन् ।

विशेष गरी बाहिरबाट आएर सञ्चालन गरिएका र स्थानीय स्तरमा पहिचान नभएका सहकारीहरूले सर्वसाधारणको बचत जोखिममा पारेका छन् । सदस्यहरूले संस्थाको कारोबार र सञ्चालकको विषयमा सामान्य चासो मात्र राखेको भए पनि यति ठुलो क्षति नहुने न्यौपानेको तर्क छ ।

सम्पर्कविहीन सञ्चालक र अलपत्र बचतकर्ता
भैरहवामा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था २०८१ वैशाख १७ गतेदेखि पूर्ण रूपमा सम्पर्कविहीन छ । बुटवलको कालिकानगरमा रहेको यसको शाखा कार्यालय पनि बन्द अवस्थामा छ ।

राष्ट्रिय सहकारी बैङ्कको लुम्बिनी प्रदेश कार्यालयले समेत यस संस्थाले आफ्नो सम्पूर्ण कारोबार शून्य बनाएको र प्रहरीले मागेका विवरणहरू उपलब्ध गराइसकेको जनाएको छ ।

संस्थाका अध्यक्ष खिमराज भण्डारीको मोबाइल महिनौँदेखि स्विच अफ छ । सञ्चालकहरू फरार भएपछि र कार्यालयमा ताल्चा लागेपछि हजारौँ बचतकर्ताहरू अहिले न्यायको ढोका ढक्ढकाउन बाध्य छन् ।

सहकारी ठगीको यो शृङ्खलाले एउटा गम्भीर प्रश्न उब्जाएको छ–के राज्य साना बचतकर्ताहरूको सुरक्षा गर्न सक्षम छ ? बालिका दर्जी, लक्ष्मण विक र पुजन घिमिरेजस्ता नागरिकहरू जसले आफ्नो गाँस काटेर सहकारीमा पैसा जम्मा गरे, उनीहरूको न्यायका लागि कसले बोल्दिने ?

अहिले बुटवलका गल्ली र बस्तीहरूमा मञ्जुश्री सहकारीका पीडितहरू आफ्ना पास बुक बोकेर टोलाइरहेका भेटिन्छन् । उनीहरूको एउटै माग छ– “हाम्रो पसिना फिर्ता देऊ र ठग सञ्चालकलाई जेल हाल ।” तर, महिनौँ बितिसक्दा पनि न सञ्चालक पक्राउ परेका छन्, न त बचत फिर्ता हुने कुनै सुनिश्चितता नै देखिएको छ ।

बचतकर्ताहरूको बिच्चली भइरहँदा नियमनकारी निकायको सुस्तताले सहकारी प्रतिको जनविश्वास मात्र डगमगाएको छैन, विपन्न वर्गको आर्थिक मेरुदण्ड नै भाँचिएको छ ।

एक वर्षअघि भैरहवामा केन्द्रीय कार्यालय रहेको सहकारीले तरलता अभावका कारण जनाउँदै बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि बचतकर्ताहरूले कार्यालय घेराउ गरेका थिए ।

बचतकर्ताले शाखा कार्यालय र अध्यक्ष भण्डारीलाई घेराउ गरेपछि दुवै पक्षलाई राखेर इलाका प्रहरी कार्यालय बुटवलले छलफल समेत गरेको थियो । तर समस्या अहिलेसम्म ज्युँ का त्युँ रहँदा बचतकर्ताहरू थप निराश बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?