Butwal Today

पक्राउ परेका रिहा, निषेधाज्ञा हट्यो

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुमा तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा मंगलबार (आज) बाट हटाइएको छ ।

पछिल्लो समय अवस्था सहज बन्दै गएपछि र सर्वपक्षीय सहमतिका आधारमा निषेधाज्ञा हटाइएको हो । जनजीवन सामान्य अवस्थामा फर्किँदै गएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनाए ।

सर्वपक्षीय छलफलमार्फत भविष्यमा यस्ता अप्रिय घटना नदोहो-याउने, सामाजिक सद्भाव कायम राख्ने र कसैले पनि उत्तेजना फैलाउने गतिविधि नगर्ने सहमति भएको उनले बताए । घटनासँग सम्बन्धित केही पक्राउ परेकाहरूलाई रिहा गरिएको समेत उनले बताए ।

प्रशासनका अनुसार निषेधाज्ञा हटेपछि महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्र पुनः चलायमान बनेको छ ।

बजार खुल्न थालेका छन्, भने सर्वसाधारणको आवागमनमा पनि वृद्धि देखिएको छ । स्थानीय प्रशासनले क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख भएको जनाएको छ ।

गत चैत ७ गते सामान्य विवादले उग्र रूप लिएपछि हिन्दु र मुस्लिम समुदायबिच झडप भएको थियो । त्यसपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो ।

अहिले भने सुरक्षा अवस्था स्थिर बन्दै गएको र दुवै समुदायबिच समझदारी बढेको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । सबै पक्षलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न प्रशासनले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?