नवलपरासी । ग्रामीण क्षेत्रमा पाइने अम्लिसो (झाडु घाँस) बाट तयार गरिने कुचोलाई आयआर्जनको माध्यम बनाउँदै स्थानीय स्तरमा आत्मनिर्भरता बढाउने उद्देश्यले महिलाहरूलाई कुचो बनाउने तालिम सुरु गरिएको छ ।
यस अभियानअन्तर्गत मूलतः गृहिणी महिलाहरू लाई लक्षित गरी अम्लिसो सङ्कलन, प्रशोधन र कुचो निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ।
सहज रूपमा पाइने कच्चा पदार्थको प्रयोग गरी कम लगानीमै राम्रो आम्दानी गर्न सकिने भएकाले यो पेसा प्रभावकारी बन्न सक्ने वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर क्षेत्री ले बताए ।केही अम्लिसो खरिद गरिएको र केही खेर गइरहेका स्थानीय स्तरमा रहेका अम्लिसो प्रयोगमा ल्याइएको अध्यक्ष क्षेत्रीले बताए।तीन दिन सम्म सञ्चालन भएको तालिमका लागि वडा कार्यालयले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अभियानले विशेष गरी ग्रामीण भेगका महिलालाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ। तालिमपछि सहभागीहरूलाई आवश्यक उपकरण तथा बजार व्यवस्थापनमा समेत सहयोग गर्ने योजना रहेको जनाइएको छ।
तालिममा सहभागी महिलाहरूले हरेक घरमा कुचो दैनिक रूपमा प्रयोग हुने हुँदा निरन्तरता दिन सके राम्रो आय अर्जन हुन सक्ने बताए ।
बर्दघाट नगरपालिका वडा नम्बर २ को रु २ लाख बजेटको सहयोगमा सहयोगमा सञ्चालन भइरहेको यस तालिमले बेरोजगारी न्यूनीकरणका साथै घरेलु उद्योग प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
साथै, स्वदेशमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।