© 2026
सल्यान ।
देशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शारदा नगरपालिका वडा नम्बर, ११ स्थित खैरबाङ भुवनेश्वरी भगवती मन्दिरमा चैते दसैँको अवसरमा भक्तजनको भीड बढ्ने भएपछि स्थानीय शारदा नगरपालिकाले यातायात सेवामा सुविधा प्रदान गर्ने भएको छ । नगर बस सेवामार्फत श्रीनगरबाट खैरबाङ मन्दिरसम्मको यात्रामा ५० प्रतिशत सहुलियत भाडा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
मन्दिरको महत्त्वलाई ध्यानमा राख्दै चैत्र १० देखि १२ गतेसम्म चैते दसैँको मुख्य अवधिभरका लागि श्रीनगरबाट बिहान ६स्०० बजे बस सेवा सञ्चालन हुनेछ । यस अघि पनि बडा दसैँमा यो सुविधा प्रदान गरिएको भन्दै नगर प्रवक्ता तथा शारदा९११ का वडा अध्यक्ष राजेशकुमार शर्माले मन्दिरसम्म एक सय रुपियाँ रहेको भाडामा छुट दिएर नगर बस सेवा मार्फत ५० रुपियाँमा पुग्न सकिने बताए । यस सुविधाबाट टाढाबाट वा सल्यानबाहिरबाट श्रीनगरसम्म आएर मन्दिरसम्म पुग्न समस्या हुने भक्तजन एवं दर्शनार्थीलाई सहज र सस्तो यात्रा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षसँगै अन्य समय पनि मन्दिर भक्तजनका लागि खुला रहने गर्दछ । खैराबाङ भगवती मन्दिरमा बर्सेनि करिब दुई लाख भक्तजनले दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिको तथ्याङ्क छ ।
धार्मिक शास्त्रअनुसार नेपालका ५१ शक्ति पीठमध्ये एक खैरबाङ भगवती मन्दिर सल्यान सदरमुकाम खलङ्गाबाट करिब १६ किलोमिटर पूर्व दक्षिणमा अवस्थित छ । सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको बायाँ स्तन पतन भएको विश्वास गरिन्छ ।
धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बागलुङ, दाङ, रुकुम, रोल्पा, प्युठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौँ, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट समेत दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् । मन्दिरमा पुग्ने भक्तजनले क्रोध, लोभ, काम र ईर्ष्या जस्ता दोषबाट मुक्ति पाउने विश्वास गरिन्छ ।