Butwal Today

सांसदको शपथका लागि तयारी बहुउद्देश्यीय हल

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाण्डौ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र संसद् बैठक सञ्चालनका लागि सङ्घीय संसद् सचिवालयले निर्माणाधीन संसद् परिसरभित्रको बहुउद्देश्यीय हल तयार गरेको छ । बिहीवार हुने शपथ कार्यक्रमका लागि हलको भौतिक व्यवस्थापन कार्य सम्पन्न भएको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको स्थायी सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि यो हललाई अस्थायी रूपमा संसद् सञ्चालनका लागि प्रयोग गर्न लागिएको हो । सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार धेरैजसो पूर्वाधार तयार भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा छन् । कुर्सीहरूमा माइक्रोफोन जडान भइरहेको र भोलिसम्म सकिने उनले जानकारी दिए। दुई वटा कुर्सीमा एउटा माइक्रोफोनको व्यवस्था गरिएको छ । सभामुखका लागि छुट्टै कोठा र अतिरिक्त बस्ने व्यवस्था पनि मिलाइँदैछ ।

शपथ कार्यक्रममा २४ जना सांसदले मातृभाषामा शपथ लिँदैछन् । स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधिसभाका बैठकहरू यही हलबाट सञ्चालन हुनेछ । पहिलो अधिवेशनसमेत यही हलमा बस्ने सम्भावना रहेको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको क्षतिका कारण वैकल्पिक ठाउँका रूपमा बहुउद्देश्यीय हल प्रयोग गर्नुपरेको हो । सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?