Butwal Today

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत २० देखि 

१० चैत्र २०८२, मंगलवार
अ+
अ-
काठमाडौँ । नवौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासंघ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ ।
महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन् । मेलामा तीन सय महिला उद्यमीले एक सय ४० स्टलमार्फत आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने उनले जानकारी दिईन । प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिनेछ ।
कोशी प्रदेशबाट अल्लो, बाँस तथा प्राकृतिक रेसाजन्य सामग्री, मधेसबाट मिथिला आर्ट, बागमतीबाट डेरी तथा हस्तकला, गण्डकीबाट जडीबुटी तथा ढाका, लुम्बिनीबाट परम्परागत खाद्यवस्तु, कर्णालीबाट राडीपाखी र सुदूरपश्चिमबाट गलैँचा तथा काठका सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
“महासङ्घले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि काम गर्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भनिन, “यस वर्षको मेलामा देशभरका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीहरूलाई पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूले पनि आफ्ना उत्पादनहरू प्रस्तुत गर्ने उनले जानकारी दिईन । यसले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ ।
अध्यक्ष क्षेष्ठका अनुसार मेलाका आकर्षणहरूमा ¥याम्प वाक’, समूहगत छलफल, कार्यशाला, डिजिटलाइजेशन तालिम र वित्तीय साक्षरतालगायत कार्यक्रम समावेश छन् । मेलामा करिब रु दुई करोड बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?