© 2026
बुटवल । रुपन्देहीमा चैत ६ र ७ गते भएको बेमौसमी हिउँदे वर्षाका कारण इट्टा उद्योगीहरूले ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।
दुई दिनसम्म लगातार परेको पानीले पोल्नका लागि तयार पारिएका करिब ३ करोड गोटा काँचो इट्टा नष्ट भएका हुन् । खुल्ला आकाश मुनी सुकाउन राखिएका इट्टाहरू पानीले गलेर काम नलाग्ने भएपछि समग्र जिल्लाभर करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
देवदहस्थित सुपर ब्रिक इन्डस्ट्रिजका सञ्चालक मित्रबन्धु पाठकका अनुसार, उनको उद्योगमा मात्रै १० लाख गोटा इट्टा नष्ट भएका छन् । “मौसमको पूर्व सूचनाका कारण केही इट्टा जोगाउन सफल भए पनि ठुलो परिमाणमा क्षति भयो,“ पाठकले भने । उनले काँचो इट्टाको बिमा गर्ने व्यवस्था नहुँदा उद्योगीहरूले बर्सेनि करोडौँको जोखिम खेप्नुपरिरहेको गुनासो गरे ।
यस्तो नोक्सानीबाट बच्न कि त वर्षाको समयमा उत्पादन रोक्नुपर्ने, कि त ठुला टहरा निर्माण गरी सुरक्षित भण्डारण गर्नुपर्ने उनको सुझाव छ । रुपन्देहीमा काँचो इँटाको लागत मूल्य करिब साढे ३ देखि ४ रुपियाँ पर्न आउँछ ।
उपभोक्तालाई मूल्यवृद्धिको भार
उत्पादनमा आएको ह्रास र भएको क्षतिपूर्तिका लागि व्यवसायीहरूले इट्टाको नयाँ मूल्य निर्धारण गरेका छन् । लुम्बिनी इट्टा व्यवसायी सङ्घका अनुसार, यसअघि प्रतिगोटा १५ रुपैयाँ पर्ने पहिलो नम्बरको इट्टाको मूल्य बढेर १६ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यसै गरी, दोस्रो नम्बरको इट्टा १३ रुपैयाँबाट बढेर १४ रुपैयाँ पु¥याइएको छ । उत्पादन लागत बढ्ने र बजारमा इट्टाको अभाव हुने भएपछि यसको प्रत्यक्ष भार उपभोक्ताको टाउकोमा परेको छ ।
लुम्बिनी इट्टा उद्योग सङ्घ रुपन्देहीका महासचिव बाबुराम पाण्डेयले जिल्लाका ३५ वटा उद्योगमा भएको यो क्षतिले उद्योगीहरू मर्माहत भएको बताए । सङ्घका कार्यालय सचिव जीवन पाण्डेका अनुसार, इट्टाको क्षतिले बजारमा माग र आपूर्तिबिचको सन्तुलन बिगार्ने निश्चित छ ।
व्यवसायीहरूले पटक–पटक राज्य र बिमा कम्पनीहरूसँग काँचो इट्टाको बिमा पोलिसी ल्याउन माग गरे पनि सुनुवाइ भएको छैन । “प्राकृतिक प्रकोपका कारण हुने यस्तो क्षतिमा राज्यले अभिभावकीय भूमिका निर्वाह नगर्दा व्यवसायीहरू पलायन हुने अवस्था छ,“ महासचिव पाठकले थपे ।
रुपन्देहीमा उत्पादित इट्टा पाल्पा, गुल्मी र स्याङ्जासम्म निर्यात हुने गर्दछ । मङ्सिरदेखि जेठसम्म चल्ने यो सिजनमा भएको क्षतिले निर्माण क्षेत्रमा समेत सुस्तता ल्याउने देखिएको छ ।
उद्योग वरिपरि जमेको पानी र हिलोका कारण पुनः उत्पादन सुरु गर्न अझै केही समय लाग्ने देखिएकाले बजारमा इट्टाको अभाव अझै बढ्न सक्ने आङ्कलन गरिएको छ ।
रुपन्देहीमा रहेका ५२ वटा इँटा उद्योग मध्ये हाल ३५ वटा मात्रै सञ्चालनमा छन् । उद्योगीहरूले वर्सेनि इँटा हिउँदे वर्षाका कारण नष्ट हुने गरेको भन्दै मूल्य बढाउने गरेका छन् ।