Butwal Today

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ: मन्त्री सिन्हा

९ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्याङ्क सङ्कलन र विश्लेषणले भविष्यमा विपद् न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

विश्व जल तथा मौसम दिवसको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित कार्यक्रममा उनले जल तथा ऊर्जा आयोगको सचिवालयको संयोजनमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमले जल तथा मौसमसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मन्त्री सिन्हाले नेपालको भौगोलिक विविधता—हिमाल, पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै गएको बताए ।

उनका अनुसार असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लावट तथा हिमताल विस्फोटजस्ता घटनाले जनजीवन, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पारिरहेका छन् । “यस्तो अवस्थामा वैज्ञानिक जानकारी, समयमै पूर्वानुमान र प्रभावकारी पूर्व सूचना प्रणालीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने छ ।  कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, स्वास्थ्य, यातायात तथा उड्डयन क्षेत्र यी सेवामा निर्भर रहेको छ,” उनले भने ।

सरकार जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन आधुनिक प्रविधि प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको जानकारी दिए ।

उनले जोखिमयुक्त समुदायसम्म समयमै सूचना पु¥याउन पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको पनि स्पष्ट पारे । साथै अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण, अनुसन्धान र नवप्रवर्तनमार्फत सेवा गुणस्तर अभिवृद्धि गर्ने दिशामा सरकार अग्रसर रहेको उनको भनाइ थियो ।

मन्त्री सिन्हाले सरकारी, गैरसरकारी, निजी तथा शैक्षिक क्षेत्रबिचको सहकार्यबाट मात्र जल तथा मौसम सेवाहरू प्रभावकारी रूपमा नागरिकसम्म पु¥याउन सकिने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?