© 2026
चतुर राजनीतिक खेलाडी प्रचण्ड र उनको दलत झन सशक्त हुँदै जानुपर्ने । किनकि यो जनयुद्ध गरेको पार्टी हो । तर, दिनहरू बित्दै जाँदा र शासनका अभ्यासहरूमा प्रयोग हुँदै जाँदा झन सक्किदै हराउदै र टुँगिदै आएको छ ।
हालैको चुनावी नतिजामा धन्न राष्ट्रिय दलसम्म बनेको छ । इतिहासहरू कहिले सशक्त र उदयमान भएर आउँछन् त कहिले मधुरो, धमिलो र निस्तेज हुँदै बिलुप्तितर्फ जान्छन् ।
इतिहासको कुनै बेला लाग्थ्यो प्रजण्ड नेपाली राजनीतिमा कहिल्यै खस्किदैन । प्रचण्डको पार्टीको बिकल्प कहिल्यै हुँदैन । तर प्राकृतिक नियम सूर्य पनि सधै उदाइमात्र कहाँ रहँदो रहेछ र ? जनयुद्धको मर्म सहितको इतिहास र तत्कालीन माओवादी पार्टीको अस्तित्व नेपाली राजनीतिको समय बित्दै जाँदा दुर्घटनाग्रस्त हुँदै गइरहेको छ ।
ती सुन्दर राजनीतिक, ऐतिहासिक घटनाहरू प्राक्कालिन अर्थात पौराणिक (एन्टिक्युरियन) इतिहासको अस्तित्वमा रहेर मानवता सुचारुको रूपमा रहिरहन नसकेको तीतो सत्य छ । आज नेपाली इतिहासमा त्यो जनयुद्धको पार्टी खोज्दा नपाइने गरी हराएको छ । आज आएर महान ऐतिहासिक कमाण्डर प्रचण्ड बिलुप्तितर्फको अवस्थामा छ ।
आफ्नो कमजोरी र पतनको पीडाले आफै चिथोरिने, कोपर्ने र टाउको ठोकाउन पर्ने हालतमा पुगेको छ, सायद । बिगतमा सबैले निकै महत्व दिएर एक्स्ट्रा अडिनरी मान्छेको रूपमा हेर्थे प्रचण्डलाई । पार्टी नेतृत्वदेखि जनयुद्धपछि पनि अन्य ग्रहबाट आएको सुपरम्यान जस्तो, दैविक शक्ति जस्तो देश बदल्ने राजनीतिक मिथक जस्तो मानिन्थ्यो ।
आज छविलाल, पुष्पकमल र प्रचण्डबाट उनी डि–ग्रेडेड हुन पुगेका छन् । बच्चादेखि युवा र बुढापाकाले, कामदार, नोकर अनपढदेखि विद्वानसम्मले सम्मानित सम्बोधन नगरेर फरक भाषामा तुच्छ सम्बोधन गरेको सुनिन्छ ।
जनयुद्धको बेला अदृश्य पपुलिस्टको शिखरमा थिए । उनले पड्काएका बम, बारुद र गोलीहरू पनि बास्ना आउँथे मान्छेहरूलाई । उनका बोलीहरूपनि मिठास गुन्जिन्थे जनताका कानमा । उनका अविश्वासहरू पनि विश्वास नै लाग्थे दुनियाँलाई । किनकि उनी आशा, भरोसा र भरको केन्द्र थिए त्यति बेला । उनी अपरिक्षणीत थिए त्यति बेला ।
तर जब प्रचण्ड संसदीय अभ्यासमा टेस्टेड हुन थाले, बिस्तार बिस्तार लोज्जिदै, ओइलाउदै, फिक्का हँदै गए । अहिले लगभग सबैलाई पट्यारलाग्दो, झिंजोलाग्दो र दिक्कलाग्दो भएका छन– पुष्पकमल ।
दशकौँसम्म कठोर राजनीतिक जीवन गुजारेर सुपरम्यानको रूपमा ‘सुप्रा हिस्ट्री’ (उच्चतम चेतनाले सिर्जित वास्तविक र सिर्जनशील इतिहास) कायम गर्न खोजेका प्रचण्ड (पुष्पकमल दाहाल) भूत र वर्तमानको चित्त बुझाउन नसक्ने हविगतको डिनउमन्ट् (निस्कर्षि पतन) मा पुगिसकेका छन् ।
उनैले भनेको महान् जनयुद्धको इतिहासमाथि तेजाब खन्याउने काम उनैबाट भएको छ । इतिहांसका कुनै मोडको जनयुद्धमा देव शक्ति जस्तो, सुपरम्यान हैसियतको जस्तो मानिएको र सर्वत्र सुर्यझैं आशाको किरणले प्रचण्ड औकातको प्रचण्ड जनयुद्धको नेतृत्वकालसम्म आइपुग्दा क्रान्तिकारी हिरो थिए भन्नेमा प्रश्न थिएन ।
साँच्चै उनी मुक्तिकर्मी नेपाली जनतामा प्रचण्ड रूपमा छापित थिए । उनले नेपाली जनता र विशेषगरी सर्वहारा, सुकुम्बासी, किसान, मजदुर, दलित, आदिवासी, जनजाति, मुस्लिम तथा सबै खालका वर्गीय, लिङ्गीय, जातीय र क्षेत्रीय उत्पीडितहरूबाट अति सहानुभूति पाएका पनि हुन् ।
उनले क्रान्तिकारी हिरोको सर्वोत्तम भूमिका निभाएका पनि हुन् । २०७४ सालको अन्तिमसम्मको उनको राजनीतिक जीवन सम्मानित र अस्तित्ववान् नै रहेको थियो । नेपाली धर्तीमा सबै मुक्तिकामी जनताको पक्षको नढल्ने, नगल्ने र नहार्ने प्रतापी प्रचण्ड तथा पुंजीवादी, सामन्तवादी र शोषक वर्गको विरुद्ध अति कडा प्रचण्ड थिए ।
तर, आफ्नो इतिहासको विरासत जलाउने काम २०७५ सालको जेठबाट एमालेसँग पार्टी मिसाएर गरे । अहिलेसम्म आइपुग्दा आफ्नै नेतृत्वमा कायम गरेका महान हिस्टिोरिकल् गौरवलाई अ–हिस्टिोरिकल् आफैले बनाउदै गए । के भनेर प्रचण्डले जनयुद्ध सुरु गरेका थिए ? कुन उद्देश्यले जनयुद्ध गरे ? नेपाली जनतालाई कस्ता कस्ता सपना बाँडेका थिए ? र के प्राप्ति भएपछि टुङ्गे र आफ्नो गौरवमय इतिहास पुर्नतिर लागे ? सबैले बुझिसकेका छन् ।
डा. बाबुराम भट्टराईले नयाँशक्ति खोल्दा “कम्युनिष्ट पार्टी छोडेर भागे” भनेका प्रचण्ड यद्यपि नामको मात्र मेटिएको कम्युनिष्ट साइनबोर्ड राखेर स्वयम् आपूmले पनि कम्युनिष्ट पार्टी छाड्दै भागे ।
यद्यपि कार्यकर्ता भुलाउन र अस्तित्वको खातिर एमालेसँगको एकतामा कम्युनिष्ट एकता गरेका थिए । प्रचण्डले एमालेसँग हास्यास्पद कम्युनिष्ट एकता गरका थिए । उनले कम्युनिष्ट एकता गरेको हो भने मोहन वैद्य, मोहनविक्रम, विप्लव, गोपाल किराँती, चित्रबहादुर के.सी. नेतृत्व र आहुती लगायतको पार्टीसँग पो गर्थे होलान् ।
आफैले भन्दै आएका प्रतिक्रियावादी पार्टी एमाले, कांग्रेसजस्तासँग एकता गरेर कम्युनिष्ट एकतामा आफ्नो दलको प्रचण्ड विरासत नै सिध्याएका थिए ।
“बीसौँ शताब्दीको अन्तिमतिर आएर विश्व कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने र पूँजीवादी बुर्जुवा जनवादमा पतन गराउने कार्य यिनै दक्षिणपन्थी संशोधनवादीहरूले गरेको कुरा स्वतः प्रष्ट छ ।
यहि प्रक्रियामा नै एमालेको बहुदलीय जनवादले आर्थिक रूपमा सुधारवादको वैचारिक रूपमा विसर्जनवादको र दार्शनिक रूपमा सून्यवादको प्रतिनिधित्व गर्दछ ।” यो भनाइ २०६३ साल आश्विनमा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा प्रकाशित ‘नयाँ दिशाबोध’ मा यिनै कमरेड प्रचण्ड÷ पुष्पकमल दाहालले दिएको अभिव्यक्ति हो ।
जो सार्वजनिक रूपमा सधैँ भन्दै आएकै हुन् । त्यसो हो भने २०७५ सालमा आइपुग्दा उनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा एमालेसँग एकता गर्दा एमाले क्रान्तिकारी कम्युनिष्टमा रूपान्तरण भएको हो त ? त्यसो त प्रचण्ड आफै सुधारवाद, विसर्जनवाद र सून्यवादको भूमरीमा फन्फनी घुमिरहेका थिए र छन्, जसको निकास अझै छैन ।
बढी क्रान्तिकारी बाठो हुन खोज्दा अस्तित्वमैँ धमिरा लागिसकेको छ । क्रान्तिकारी युद्धबाट थाकेर स्केपिजम् (भगुवावादी) नीति र मार्ग अवलम्बन गरेका प्रचण्ड आफु र निश्चित घेराको स्वार्थको पराकाष्ठा स्वरूप कहिले कांग्रेस, राप्रपासँग चुनावी तालमेल त कहिले एमालेसँग पार्टी मिलानमा विलुप्ती भए ।
एमालेसँग एकतासम्म आइपुग्दा उत्तर आधुनिकतावादी चेतनाको प्रवाह (स्ट्रीम अफ कन्सस्नेस्) माइन्डले ग्रसित थिए उनी । यसको मतलब एकै समयमा बहुसपना वा बहुविषयहरू दिमागमा खाँदिएर आउने र महत्वाकांक्षाको शिकार हुने ।
ठूलै पार्टीको नेता बन्ने इच्छा, प्रधानमन्त्री बन्ने आकाङ्क्षा आदिआदिका चेतनाको प्रवाहको कारण नेकपामा परिणत भइहाले । तर उनले जति सुनौलो अवसर सोचेर चढेको सुखान्तको भ¥याङ दुर्दशापूर्ण दुखान्तमा अन्त्य भयो ।
कुुनै बेला सबैलाई आदेश पालना गराउने सर्बोच्च कमान्डर प्रचण्ड अर्काको आदेश पालकको निरिह्यतामा छन । हालसम्म आइपुग्दा उनी आफै सुधारवाद, विसर्जनवाद र सून्यवाद बोकेको बहुदलीय नेता बनेका छन् ।
आफ्नै कारण र आफ्नै नातावाद र क्रियावादकै कारण पतन भएका छन् प्रचण्ड । “संसद खसीको टाउको झुण्ड्याएर, कुकुरको मासु बेच्ने थलो हो” भन्ने प्रचण्डलाई ठग मानेका छन् जनताले ।
दिनानुदिन नेपाली राजनीतिक बजारमा नक्कली व्यापारी बनेर क्रान्तिकारी छवि समाप्त पार्दै आए । आफु प्रधानमन्त्री हुँदा र आफ्नो दलका क्रान्तिकारी प्रचण्ड नेताहरूले राज्यमा देश र जनताको तात्विक परिवर्तनमा कुनै हाइहाईको पहलकदमी र निर्णयहरू लिन सकेनन् । केवल संसदीय परम्परा धान्ने काम गरे ।
यसरी संसदीय विसर्जनवादमा पतन भएको माओवादी केन्द्र प्रचण्ड उनले कम्युनिष्टले विश्वासै नगर्ने र गर्न नै नहुने बुर्जुवा लोकतन्त्र र यसभित्रको बहुमत र अल्पमतको निर्धारणमा फस्दै आए् ।
सरकारमा आफ्नो नेतृत्वको पद प्राप्तीको अनेकौं तिकडमलाई उथलपुथल ठानेर जनयुद्धको मर्म, भावना र वेदनाको जनताको अबस्था उथलपुथललाई आफु, गुट र नातागोतामा ट्रान्स्लेसन् गरिदिए । सरकार तथा सत्तामा बसेर कम्युनिष्टको न्यूनतम कार्यक्रम पनि लागू गर्न खोजेनन् वा सकेनन् । जनवादको आधारभूत सिद्धान्तका गाँस, बास कपास र जनजीविकाको कुनै निित तथा कार्ययोजना ल्याएर जनयुद्धको मर्म र भावनालाई न्याय गरेन ।
नत माओवादी पार्टीले नै त्यसतर्फ कुनै ध्यान दियो । केबल काँगे्रस र एमाले लगायतका दलहरूसंग जुधेर, लडांई गरेर संसदीय जागिर खाएर दशकौं बिताए । जो जनताको कुनै मतलबको विषय नै थिएन ।
यस्तैमा गुटबन्दी वा दलबन्दीमा लुटपुटिए । हाल ऐतिहासिक सजाय भोग्दैछन् उनले र उनका दलले । हिजोका पूर्व एमाओवादीमा प्रचण्डका रक्तसञ्चार र बलियो आधार मानिएका लेखराज भट्ट, बादल, टोप ब रायमाझी, विप्लब, मोहन वैद्य, बाबुराम, धर्मेन्द्र, जनार्दनहरू किन छुटे उनीबाट ? यो सबैको कारण उनै हुन ।
२०६४ को चुनावमा बलियो बहुमतले पहिलो दल बनेको पार्टी घट्दै घट्दै गएर अहिले तुहिने अबस्थामा किन पुग्यो ? बुर्जुवा संसदीय ब्यवस्थाको घिन लाग्दो विशषेता नै यहि हो । प्रचण्ड वा तत्काल माओवादी केन्द्र स्वयं बुर्जुवा चुनावलाई बढी महत्व दिदै लगभग सबै दलहरूसंग काइते तथा घोर अवसरवादी सांठगांठ र तालमेल गरेर संसदीय निकायहरूमा केही कुर्ची पद लाभ गरेर पोलिटिक्स् र पार्टी दुवै सिध्याएका हुन् ।
आज उनी आफैले चुनाव लड्ने सुरक्षित ठाउँ छैन । जित्ने ठाउँ छैन । हिजो सर्बत्र गर्जेको प्रचण्ड आज चुनाव क्षेत्रको भिख माग्दै हिड्ने निर्मम अवस्था छ । त्यहीपनि जित्ने ठेगान छैन ।
कालान्तरमा बिनास काले बिपरित बुद्धि, फेरि प्रश्नै प्रश्नको माधव नेपाल र अन्य अवसरवादी झुण्डहरूको अनौटो आठ दल बटुलेर भ्यागुताको धार्नी पु¥याउदै छन् । फेरि आफ्नो दलको नेता कार्यकर्ताहरू छोड्दै हिड्ने बनाएर आफै धुरी बनिरहने असफल घातक सफलता हात पारेका छन् ।
भुत्ते विचारलाई क्रान्तिकारी विचारमा बदलेर कम्युनिष्ट सिद्धान्त तिरै फर्कनुको बदला झन सकिने बाटो लागेका छन् । पार्टी, विचार, इतिहास सबै ध्वस्त पारेका छन् ।
तत्कालीन सशस्त्र युद्धले विजय प्राप्त गर्दागर्दै उनीहरूले भन्ने गरेको नेपाली क्रान्तिले विश्वलाई नेतृत्व गरेको र विश्व कम्युनिष्ट आन्दोलनलाई नै नेतृत्व प्रदान गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी एमाओवादी थियो ।
विश्व राजनीतिक इतिहासमा प्रभावशाली भएर स्थान लिएको त्यो क्रान्तिकारी पार्टीलाई नेपाली मात्र होइन विश्व इतिहासले अहिले खोजिरहेको छ । २०५२ देखि २०७४ सालसम्मको बीस बाइस वर्षमात्रै हो त्यो पार्टीको आयु ?
विश्व हल्लाएको, सत्रौ हजार शहादत बलिदान गरेको, लाखौँ अङ्ग–भङ भएको, हजारौँ घरबारविहिन भएको र अरबौँको भौतिक क्षति गुमाएर विशालीकरण भएको त्यस्तो क्रान्तिकारी पार्टी आज खै नेपालमा भनेर विश्व इतिहासले खोजिरहेको छ । त्यस्तो क्रान्तिकारी पार्टी युगौँसम्म रहने र उद्देश्य पूरा गर्दै जाने हुनुपर्ने होइन र ? खै त्यो पार्टी अहिले ?
त्यो पार्टी नेपाली कम्युनिष्ट पार्टी हो ? आज सोर्ह सत्र दल मिसाएर बनेको पार्टीको हालत यस्तो छ । बढीमा दश पन्ध्र सिटमा खुम्चिन परेको छ । हिजोको मगमग वास्नाको पुष्पकमल ‘फूल’ होइन राजनीतिक पुष्पकमल पछिल्लो कालखण्डमा ओइलाइसकेका छन् । उनी नवउदारवादी बजारको प्लास्टिकको पुष्प भएका छन् ।
उनको २०७४ सालसम्मको क्रान्तिकारी बास्ना र रङ्ग उडिसकेको छ । अब ओइलाएर घुर्मैलो र डिस्कलर भएको पुष्पकमललाई कसैले टिप्ने र सजाउने अवस्था छैन । उनको प्रचण्ड क्रान्तिकारी छविको राप र ताप अब मधुरो, मलिन भइसकेको छ ।