© 2026
सल्यान ।
सल्यानको कालिमाटीमा फुटबल, क्रिकेट र भलिबल खेलहरूसहित पालिका स्तरीय खेलकुद प्रतियोगिता ‘पालिका कप’ सञ्चालन हुने भएको छ । यही चैत्र १५ देखि १७ सम्म कालिमाटी गाउँपालिकाले पालिका कपको आयोजना गरेको हो । फुटबल, क्रिकेट र भलिबल तीनै विधाका विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपियाँ प्राप्त गर्नेछन् ।
युवा तथा खेलकुद क्षेत्रको विकास, खेल प्रतिभाको पहिचान र अनुशासन तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वलीले पत्राचार मार्फत प्रत्येक वडाबाट खेलाडी टोली छनोट गरी तोकिएको समय सीमा भित्र नामावली पेस गर्न वडा कार्यालयहरूलाई अनुरोध गरेका छन् । उनका अनुसार चैत्र १४ गतेभित्र नामावली पेस गरिसक्नुपर्नेछ । सबै खेलहरू वडा नम्बर ३ स्थित शारदा जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछन् ।
सहभागी खेलाडीहरू कालिमाटी गाउँपालिकाभित्रका स्थायी बासिन्दा हुनुपर्ने, खेलाडीले नागरिकता अनिवार्य पेस गर्नुपर्ने र प्रत्येक वडाबाट विधा अनुसार टोली गठन गरी पठाउनुपर्ने गाउँपालिकाले जनाएको छ ।
कालिमाटी गाउँपालिकाले खेल क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिँदै आएको जनाएको छ । गत मङ्सिरमा पनि गाउँपालिकाले धान्य पूर्णिमाको अवसरमा खुला भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।