© 2026
नवलपरासी (पश्चिम) ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले अवैध रूपमा भन्सार छली गरी भित्र्याइएका सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार सुनवल नगरपालिका–११ भडेरी स्थित प्रमिला यादवको दुई तले घरमा भुइँ तल्लामा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइल ग्लास र एयरपड्स फेला पारिएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले ती सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएको सामानमध्ये विभिन्न कम्पनीका करिब २२ हजार ५ सय थान मोबाइल ग्लास र २ लाख ८५ हजार मूल्य बराबरका १९० थान एयरपड्स प्रो रहेको प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य करिब ८ लाख ४६ हजार रुपैयाँ रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।
प्रहरीले बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाएको जनाएको छ ।