© 2026
पाल्पा । पाल्पाको तानसेन नगरपालिका, सेती पोखरीका ७३ वर्षीय कविराम नेपाली हिजोआज निकै खुसी देखिन्छन् ।
केही समय अघिसम्म क्षयरोगले थला परेर ’अब बाँच्दिनँ’ भन्ने अवस्थामा पुगेका उनी अहिले पुनर्जन्म पाएको महसुस गर्छन् । घर नजिकैको स्वास्थ्य संस्थाबाट नियमित र निःशुल्क औषधी सेवन गरेपछि उनको अनुहारमा अहिले चमक फर्किएको छ । “नियमित औषधी खाएपछि रोग निको हुँदो रहेछ, मैले त नयाँ जीवन नै पाएँ,“ उनले आफ्नो अनुभव सुनाए ।
कविराम त केवल एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै धेरैले सही समयमा उपचार पाएर मृत्युलाई जितेका छन् । तर, पाल्पाका गाउँ गाउँमा अझै पनि क्षयरोगलाई ‘श्राप’ वा ‘सामाजिक लाञ्छना’ का रूपमा हेर्ने गरिँदा धेरै बिरामीहरू समाजको डरले रोग लुकाउन बाध्य छन् ।
माथागढी गाउँपालिका, झडेवाका ३४ वर्षीय दिपक दर्लामी रोजगारीका लागि भारत पुगेका थिए । त्यहाँको खानपान र प्रतिकूल वातावरणले उनको फोक्सोमा गम्भीर असर ग¥यो । भारतमा उपचार गर्दागर्दै कमाएको सबै रकम सकियो, तर रोग निको भएन । अन्ततः निराश भएर घर फर्किएका दर्लामीले गाउँकै स्वास्थ्य चौकीमा निःशुल्क उपचार पाए । अहिले उनी पूर्ण स्वस्थ छन् ।
त्यस्तै उदाहरण छ निस्दी गाउँपालिका, मित्यालका २४ वर्षीय कमल सुनारीको पनि । सुरुमा सामान्य ज्वरो आउने र शरीर कमजोर हुने समस्या देखिएपछि उनले निजी औषधी पसलबाट औषधी किनेर खाए । तर, रोग झन् बल्झियो ।
रामपुर अस्पतालमा खकार परीक्षण गर्दा क्षयरोग पुष्टि भएपछि उनी छाँगाबाट खसे झैँ भए । “सुरुमा त संसारै अँध्यारो भयो जस्तो लागेको थियो,” कमल सम्झिन्छन्, “तर डाक्टरहरूको परामर्श र नियमित औषधीले मलाई सामान्य जीवनमा फर्कायो । ख्याल नगरे ज्यान लिने, ख्याल गरे सामान्य रोग रहेछ यो ।”
क्षयरोग चिकित्सा विज्ञानका लागि सामान्य भए पनि नेपाली समाजका लागि अझै “अछुत” रोग जस्तै छ । पूर्व खोला गाउँपालिका, तामा खानीकी ४७ वर्षीया एक महिलाको कथा हृदय विदारक छ ।
उनका श्रीमान् भारतबाट क्षयरोग बोकेर फर्किएका थिए । तर, समाजले के भन्ला भन्ने डरले उनले रोग लुकाए । उपचारको अभावमा उनको मृत्यु भयो ।
उनका श्रीमान्को रोग उनमा पनि सरेको थियो । “समाजको डरले लुकाउँदा श्रीमानलाई सधैँका लागि गुमाउनु प¥यो,” उनी गहभरि आँसु पार्दै भन्छिन्, “अहिले मैले सात महिनादेखि औषधी खाइरहेकी छु र मेरो स्वास्थ्यमा सुधार आएको छ ।” शिक्षित परिवारमै पनि यो रोग लुकाउने प्रवृत्ति रहेको रम्भा गाउँपालिकाका वीरबहादुर दर्लामी बताउँछन् । समाजको हेर्ने दृष्टिकोण नफेरिएका कारण बिरामीहरू खुल्न नसकेको उनको ठम्याइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कले क्षयरोगको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाउँछ । कार्यालयका प्रमुख टुक प्रसाद पोखरेलका अनुसार जिल्लामा तीन प्रकारका क्षयरोगीहरू छन्– फोक्सोमा कीटाणु देखिने, नदेखिने र फोक्सो बाहिरको क्षयरोग ।
जिल्लाको पछिल्लो तीन वर्षको तथ्याङ्कले क्षयरोगको अवस्था भयावह बन्दै गएको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा १९० जना बिरामी भेटिएका थिए, जसमध्ये १३ जनाको मृत्यु भयो ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा १६३ जनामा सङ्क्रमण देखियो, तर मृत्यु हुनेको सङ्ख्या बढेर २५ पुग्यो । चालु आर्थिक वर्षको हालसम्म ७८ जना नयाँ बिरामी पहिचान भएका छन् भने ९ जनाले ज्यान गुमाइसकेका छन् ।
यी तथ्याङ्कहरूले के देखाउँछन् भने, औषधीले निको हुने दर ८७ प्रतिशत भए पनि ढिलो गरी अस्पताल पुग्ने वा रोग लुकाउने प्रवृत्तिका कारण मृत्युदर घट्न सकेको छैन । विशेष गरी फोक्सो बाहिरको क्षयरोगका बिरामीहरूको सङ्ख्या पनि उल्लेख्य छ ।
पहिचान नै मुख्य समस्या
जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्व न्यौपानेका अनुसार अहिलेको मुख्य समस्या भनेकै ‘बिरामी खोजतलास’ हो । ‘आजको विज्ञानको युगमा पनि क्षयरोगको उपचार नपाएर मानिस मर्नु लज्जास्पद हो,’ उनी भन्छन् ।
स्थानीय सरकारलाई जिम्मेवार बनाइए पनि बिरामी स्वयम् लुकिदिँदा सङ्क्रमण झन् फैलिने जोखिम बढेको छ ।
क्षयरोग केवल वृद्ध वृद्धा वा भारतबाट फर्किएकालाई मात्र होइन, बालबालिकामा पनि देखिन थालेको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार यदि दुई साताभन्दा बढी खोकी लागेमा, साँझपख ज्वरो आएमा, तौल घटेमा वा खान मन नलागेमा तुरुन्त खकार परीक्षण गराउनुपर्छ ।
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क उपचार गर्दै आएको छ ।
जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रूपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधीले गर्दा देखिएको साइड इफेक्टहरू बेलैमा अवलोकन गरी आवश्यक कदम चालिन्छ ।