© 2026
अर्घाखाँची । अर्घाखाँचीमा आयुर्वेद चिकित्सा प्रणालीअन्तर्गत बालबालिकाको स्वास्थ्य सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिने “स्वर्ण विन्दु प्राशन” कार्यक्रम सञ्चालन हुने भएको छ ।
जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सुरु गरिएको यो कार्यक्रमले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि, शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ मा रहेका १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई यही चैत १४ गते, पुष्य नक्षत्रको शुभ साइत पारेर स्वर्ण विन्दु प्राशन गरिने जिल्ला आयुर्वेद कार्यालय अर्घाखाँचीका प्रमुख कमल प्रसाद आचार्यले बताएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा यस कार्यक्रमको उद्देश्य, प्रक्रिया र लाभबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङका बाल रोग विशेषज्ञ डाक्टर अर्जुनराज शर्माले स्वर्ण विन्दु प्राशनको वैज्ञानिक तथा आयुर्वेदिक महत्वबारे प्रकाश पारेका थिए ।
स्वर्ण (सुन) र मह तथा घिउको संयोजनबाट तयार गरिने यस औषधिले बालबालिकाको स्मरण शक्ति बढाउने, बुद्धि विकासमा सहयोग गर्ने तथा मौसमी रोगसँग लड्ने क्षमता बढाउने बताए । नियमित रूपमा निश्चित समय अन्तरालमा गरिने स्वर्ण प्राशनले बालबालिकाको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गर्दछ ।
आयुर्वेद चिकित्सा पद्धतिमा हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको स्वर्ण प्राशनलाई विशेष गरी नवजात तथा साना बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि प्रभावकारी मानिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउनुका साथै मानसिक एकाग्रता र स्मरण क्षमतामा समेत सुधार ल्याउने विश्वास छ ।
पछिल्लो समय आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेदप्रतिको आकर्षण बढ्दै गइरहेका बेला यस्तो कार्यक्रमले परम्परागत ज्ञानलाई व्यवहारमा उतार्न थप सहयोग पु¥याउने देखिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले आयुर्वेद अन्तर्गतको स्वर्ण विन्दु प्राशन अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई जिल्लाभरका सबै पालिका र वडामा विस्तार गर्नुपर्ने धारणा राखे । परम्परागत उपचार पद्धतिलाई आधुनिक सन्दर्भसँग जोडेर जनस्वास्थ्यमा सुधार ल्याउन सकिने बताएका छन् ।
अभिमुखीकरण कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमले समुदायमा आयुर्वेदप्रति विश्वास बढाउने र बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पु¥याउने अपेक्षा व्यक्त गरेको अर्घाखाँची आयुर्वेद केन्द्रका वैद्य पशुपति मरासिनीले बताएका छन् ।
अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक समितिका सदस्य कमला खनाल भण्डारीले यस प्रकारका कार्यक्रमले आयुर्वेदप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै परम्परागत उपचार पद्धतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
अर्घाखाँचीमा सञ्चालन हुन लागेको स्वर्ण विन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य सुदृढीकरणतर्फको महत्त्वपूर्ण पहलका रूपमा लिइएको छ ।
आयुर्वेदिक ज्ञान र परम्परालाई आधुनिक स्वास्थ्य अभ्याससँग जोड्दै समुदाय स्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको यो कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।