© 2026
दाङ ।
यहाँको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।
सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उहाँको घरमा करिब एक महिनाअघि मात्र विद्युत्को सेवा पुगेको उनले बताए । “पहिले अँध्यारोमा बस्नुपथ्र्यो । बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपथ्र्यो”, उनले भने, “अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।”
उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो । गाउँमा विद्युत् पुगेपछि अहिले त्यो समस्या अन्त्य भएको छ । घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको थियो । एकपटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको दिन अझै सम्झनामा छ ।
उपमहानगरपालिकाभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उनको गुनासो छ । स्थानीयहरूका अनुसार विद्युत् सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो । मिल, सिलाइकटाइ, कम्प्युटर सेवा, वेल्डिङजस्ता काम सम्भव थिएनन् । अब भने केही सहज भएको छ । युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ ।
घोराही–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए । यसका लागि आफू लागिपरेको उनले बताए । आफू निर्वाचित भएपछि २०७९ सालमा रु तीन करोड ६७ लाख लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको उनी बताउछन् ।
त्यसअघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन । बाँकी रहेका ठाउँमा विद्युत् पुर्याउन २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । तर ठेक्दार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनले बताए । नागरिकको घरमा छिटो विद्युत् पुर्याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ ।
उनका अनुसार सैघामा धेरै बस्तीमा बिजुली बलेको छ तर लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायत बस्तीमा अझै सेवा पुग्न सकेको छैन । ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उनले बताए । स्थानीयको अपेक्षा भने अब विद्युत्सँगै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेछ । यस वडा पहाडी क्षेत्र भएकाले सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।