© 2026
गुल्मी । जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल कुर्घाको मालिका मन्दिर जहाँ चिच्याएर वर माग्ने प्रचलन छ । मुसिकोट नगरपालिका ६ स्थित कुर्घामा रहेको मालिका मन्दिरको प्राचिन र विशेष प्रकारको धार्मिक महत्त्व रहेको छ ।
विगत लामो समयदेखि यस क्षेत्रमा विभिन्न तिथि तथा पर्वहरूमा ठुलो मेला लाग्ने गर्दछ । तर उक्त मन्दिरको महत्त्व अनुसार यसको प्रचार प्रसार हुन भने अझै सकेको छैन । पछिल्लो समयमा उक्त मन्दिर पुनर्निर्माण गरिएसँगै आजभोलि मन्दिरमा पुग्ने भक्तजन एवं पर्यटकहरूको सङ्ख्यामा बिस्तारै वृद्धि हुँदै जान थालेको छ ।
प्राचिनकालदेखि पौराणिक महत्त्व बोकेको मालीका मन्दिर परिसर वरिपरि देखिने सुन्दर प्राकृतिक दृश्यहरू मन्दिरको मुख्य आकर्षणको रूपमा रहेका छन् । उक्त मन्दिरको थप सुन्दर तथा रोचक महत्त्व छ ।
यसको रोचक पक्ष भनेको मालीका मन्दिरमा पूजाआजा गरिसकेपछि वर माग्नु पर्दा चिच्याएर माग्नु पर्दछ । मालिका देवीले कान कम सुन्ने भएका कारण देवीसँग वर माग्दा चिच्याएर माग्नुपर्ने प्रचलन रहेको स्थानीय ज्ञान हरी सापकोटाले बताए ।
नेपालको उच्च कोटीमा रहेका धार्मिक स्थलहरू मध्ये भिन्नै महत्त्व र विशेषता भएको कारण यहाँ विशेष पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ्, प्युठान, बुटवल, काठमाडौँ लगायत विभिन्न क्षेत्रहरूबाट मानिसहरू आउने गर्दछन । मालीका मन्दिरमा वर मागे र भाकल गरेपछि मनोकामना पूर्ण हुन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।
उक्त मन्दिरमा पहिले वर मागेर भाकल गर्ने र पछि आफूले गरेको भाकल पुरा भएपछि पुनः सोही ठाउँमा पुगेर आफ्नो भाकल अनुसारको वली चढाउने गरिन्छ । मन्दिरमा पुग्ने श्रद्धालुहरूले भिन्न/भिन्न प्रकारका वर मागेर फर्कने प्रचलन छ ।
कसैले वैदेशिक रोजगारीमा जान पाऊ, रोकिएका कामहरू चाँडै पुरा हुन्, सेनामा भर्ती हुन पाऊ, सरकारी जागिर खान पाऊ, चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गरिएको स्थानीय युवा रबीलाल पौडेलले बताउँछन् ।
यहाँ मन्दिरसँग जोडिएको ठुलो चट्टानबाट बाह्रै महिना पानीको मूल निस्किरहन्छ । त्यही मूलबाट निस्किएको पानीको मूल मन्दिरमा पुग्नेहरूका लागि थप सुन्दर र आकर्षक देखिन्छ । सानो पानीको कुण्ड र त्यसै कुण्डमा आफ्नै रफ्तारमा नाँचीरहेका रङ्गिविरङ्गी माछाहरूको दृश्यले अझै मनमोहक देखिन्छ । मालीका मन्दिरमा वैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीको दिन हजारौँ भक्तजनहरूको घुँईचो लाग्ने गर्दछ ।
मालीकाको उत्पति आज भन्दा करिब ५ हजार वर्ष अगाडि भएको भन्ने मान्यता छ । मालिका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरू रहेको र तिनै रुखको फँेदमा माल्याश्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती छ ।
तत्कालिन समयमा उक्त क्षेत्रमा प्रशस्त मात्रमा वन जङ्गल रहेका कारण त्यहाँ जङ्गली जनावर र चराचुरुङ्गीहरूको वासस्थान रहेको किंवदन्ती छ । त्यसैको नजिकै पानीको मुहान रहेको र कालान्तरमा उक्त मूल सुक्दै गएपछि त्यस क्षेत्रका वन्यजन्तु र जीवजन्तुहरूलाई पानीको ठुलो सङ्कट परेको भन्ने भनाइ छ ।
पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग भन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको भनेर पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिसरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ ।
त्यसै मान्यताका कारण त्यहाँ सयौं वर्षदेखि चट्टानको बीचमा सानो जलकुण्ड अहिलेसम्म निरन्तर छ । अर्कोतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठको रूपमा मालीकाको वर्णन गरिएको पाईन्छ । त्यसै कारणले त्यस क्षेत्रमा माघ महिनामा मालीकामा बली चढ्दैन ।
पर्यटकीय दृष्टीकोणले पनि यस मन्दिर महत्त्वपूर्ण स्थानमा रहेको छ । मन्दिर नजिकै स्वाँरा होमस्टे सञ्चालनमा छ । मन्दिर पुगेर फर्केपछि मानिसहरू होमस्टेमा पुगेर स्थानीय वस्तुका परिकारहरूको स्वादमा रमाउन सक्छन् ।
पछिल्लो समयमा मालीका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिका र प्रदेश सरकारबाट सडक, खानेपानी तथा मन्दिर पुनर्निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले बताएका छन् ।
स्वदेश तथा विदेशमा रहेका त्यस क्षेत्रका व्यक्तिहरूले मालीकालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउनु पर्नेमा जोड दिँदै आएका छन् । तर प्रचार प्रसारको अभावमा यो मन्दिर अझै बत्तीमुनिको अँध्यारो जस्तै बनेको छ ।