Butwal Today

प्रश्नमै अल्झिएको न्याय

सुर्खेतकी इनिशा विकको रहस्यमय मृत्युले देशभर न्यायको माग गर्दै आन्दोलन चर्किएको छ । परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशङ्का गर्दै दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ । यस्ता घटनामा आन्दोलन भए पनि समयसँगै मुद्दा सेलाउने र पीडितले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै आएको छ । अधिकारकर्मीहरूले छोरीसँगै छोरालाई पनि जिम्मेवार बनाउने सामाजिक साेंच आवश्यक रहेको बताएका छन् ।
७ चैत्र २०८२, शनिबार
अ+
अ-

बुटवल  । केही दिनयता सुर्खेतकी बालिका इनिशा विकको असामयिक मृत्युले देशभरको ध्यान तानेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म न्यायको माग गुन्जिरहेको छ ।

‘इनिशालाई न्याय देऊ’ भन्ने नारासहित विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । तर यस्ता घटनाहरूमा बारम्बार देखिँदै आएको एउटा पीडादायी यथार्थ फेरि दोहोरिएको छ । आन्दोलन चर्किन्छ, आवाज उठ्छ, तर समय बित्दै जाँदा न्यायको अपेक्षा ओझेलमा पर्छ ।

इनिशा फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन् । केही समयपछि उनी सुर्खेतको सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परिन् । प्रादेशिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे ।

सामान्य दिनझैँ घरबाट निस्किएकी छोरी असामान्य अवस्थामा मृत फेला पर्दा परिवारमाथि परेको पीडा शब्दमा व्यक्त गर्न गाह्रो छ । घटनास्थलबाट प्रहरीले १६ वर्षीय एक किशोरलाई समेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले यस प्रकरणमा अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । परिवारले भने घटनालाई सामान्य रूपमा लिन तयार छैन । उनीहरूले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । तर अनुसन्धानको प्रक्रियाले मात्र पीडित परिवारको चित्त बुझाउन सकेको छैन ।

यो घटना कुनै एक परिवारको मात्र पीडा होइन, समाजको सामूहिक चिन्ताको विषय बनेको छ । पछिल्ला वर्षहरूमा किशोरी तथा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू निरन्तर दोहोरिँदै आएका छन् ।

तर प्रत्येक घटना केही दिन चर्चामा आएपछि क्रमशः ओझेलमा पर्ने प्रवृत्तिले न्यायप्रति विश्वास कमजोर बनाउँदै लगेको छ । २०७५ साल साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझै धेरैका स्मृतिमा ताजा छ ।

त्यसपछि बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणले पनि देशलाई स्तब्ध बनाएको थियो । यी घटनाहरूले राष्ट्रिय स्तरमै ठुलो आन्दोलन जन्माए, तर पीडित परिवारले आजसम्म पूर्ण न्यायको अनुभूति गर्न सकेका छैनन् ।

इनिशाको घटनाले फेरि त्यही प्रश्न उठाएको छ–के हाम्रो आन्दोलन केवल क्षणिक दबाब सिर्जना गर्ने माध्यम मात्र हो ? कि यसले दीर्घकालीन न्याय सुनिश्चित गर्न सक्छ ?

सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया पनि मिश्रित छ । धेरैले न्यायको माग गर्दै सहानुभूति प्रकट गरेका छन् भने केहीले भने पीडितकै चरित्रमाथि प्रश्न उठाउने प्रवृत्ति देखाएका छन् ।

किशोरीको व्यक्तिगत जीवनशैली, हिँडडुल वा सम्बन्धलाई आधार बनाएर घटनाको औचित्य खोज्ने प्रयासले पीडितलाई नै दोष दिने संस्कार झल्काउँछ ।

यस्तो प्रवृत्तिले न केवल पीडित परिवारको पीडा बढाउँछ, समाजमा गलत सन्देश पनि दिन्छ । एउटा किशोरीले आफ्नो जीवनका सामान्य निर्णयहरू लिँदै गर्दा त्यसकै आधारमा हिंसालाई जायज ठहर्‍याउने मानसिकता गम्भीर चिन्ताको विषय हो ।

अधिकारकर्मी पवित्रा शाहीका अनुसार, पछिल्लो समय महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दै जानु अत्यन्त दुःखद छ । “हामीले सचेतना र विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ, तर समाजमा अझै पनि पितृसत्तात्मक सोच हाबी छ,” उनी भन्छिन् । उनका अनुसार छोरीलाई मात्र होइन, छोरालाई पनि जिम्मेवार, संवेदनशील र संस्कारी बनाउन जरुरी छ ।
हाल इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । परिवारले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान दोहोर्‍याइरहेका छन् । यसबिच, विभिन्न मानवअधिकारकर्मी, नागरिक समाज र सर्वसाधारणले निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

समाजमा यस्ता घटनाहरू दोहोरिनु केवल कानुनी कमजोरीको परिणाम मात्र होइन, सामाजिक सोच र संरचनासँग पनि गहिरो रूपमा जोडिएको छ । जबसम्म पीडितलाई दोष दिने प्रवृत्ति अन्त्य हुँदैन र अपराधीलाई कडा दण्ड दिने प्रणाली प्रभावकारी हुँदैन, तबसम्म यस्ता घटना रोकिने सङ्केत देखिँदैन ।

मानवअधिकारकर्मी तथा इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले महिला तथा बालबालिकामाथि हुने हिंसाको सङ्ख्या दिन दिनै बढिरहेको बताइन् । उनले रुपन्देही जिल्लामा पनि महिनामा ३ देखि ८ वटा सम्मका घटनाहरू भइरहेको जानकारी दिइन् ।

“सामाजिक सञ्जालको दुरुपयोगले पनि समस्या सृजना गरेको छ । त्यसै गरी हाम्रो समाजमा बालबालिकाहरूलाई यौन शिक्षा दिन नसक्नुले पनि बच्चाहरूमा कौतुहलता सृजना हुनाले पनि पछिल्लो समयमा धेरै कम उमेरका बालबालिकाहरूमा यस्तो समस्या सृजना हुने गरेको छ”–उनले भनिन् ।

यौनजन्य विषयलाई घरपरिवार, अभिभावक, शैक्षिक संस्था लगायतका स्थानहरूमा खुल्ला छलफल र बहस हुन आवश्यक रहेको बिसीको भनाइ छ । त्यसै गरी छोरालाई पनि संस्कार सिकाउँदै छोरीप्रतिको धारणालाई सामान्यीकरण गर्न सके यो कम उमेरमा हुने हिंसासँगै आजभोलि बढिरहेको हत्याका घटनाहरू कम गर्न सहयोग मिल्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?