© 2026
लन्डन ।
बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ । सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ ।
विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र बेरोजगारी बढ्न मुख्य भूमिका खेलेको देखिन्छ । यसले युवा रोजगारीको अवस्था चिन्ताजनक रहेको देखाउँछ ।
यसै अवधिमा कर्मचारीहरूको औसत आम्दानी ९बोनससहित० ३ दशमलव ९ प्रतिशतले बढे पनि मुद्रास्फीति समायोजन गर्दा वास्तविक आम्दानी वृद्धि मात्र शून्य दशमलव ७ प्रतिशत रहेको छ । साथै, नियमित तलब वृद्धि दर पनि पछिल्ला पाँच वर्षकै न्यून स्तरमा झरेको छ, जसले नागरिकको क्रयशक्ति कमजोर हुँदै गएको संकेत गर्छ ।
रोजगारीको अवस्थालाई हेर्दा, एक वर्षमा तलब पाउने कर्मचारीको संख्या करिब १ लाख ९ हजारले घटेको छ भने पछिल्लो त्रैमासिक अवधिमा मात्रै ३१ हजारले कमी आएको छ । यसले रोजगारका अवसरहरू घट्दै गएको देखाउँछ ।
विशेषज्ञहरूका अनुसार श्रम लागत वृद्धि, कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको तीव्र विस्तार तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जिएको आर्थिक अनिश्चितताले श्रम बजारमा थप असर पार्न सक्छ । यही कारणले चालु वर्षभर बेरोजगारी दर बढेर ५ दशमलव ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ । रासस