© 2026
बुटवल । बुटवलमा निर्माणाधीन १२ तले लुम्बिनी प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो र महत्त्वाकाङ्क्षी स्वास्थ्य परियोजनाका रूपमा अगाडि बढिरहेको छ ।
करिब ७ अर्ब रुपियाँको लागतमा निर्माण भइरहेको यो अस्पतालमा १२ सय शैयाको क्षमता रहनेछ । भौतिक संरचनाको दृष्टिले यो आयोजना प्रदेशको गौरव हो, तर यसको वास्तविक अर्थ तब मात्र स्थापित हुनेछ जब यहाँबाट नागरिकले गुणस्तरीय, सहज र भरपर्दो सेवा प्राप्त गर्नेछन् ।
यो अस्पताल अब सामान्य सेवा दिने साधारण अस्पतालको सीमामा सीमित हुनु हुँदैन ।
यसलाई बहु विषयक, अत्याधुनिक सेवा दिने “उच्चस्तरीय विशेष उपचार केन्द्र” वा “जटिल रोगको विशेषज्ञ उपचार केन्द्र” का रूपमा विकास गर्नु अत्यावश्यक छ । मुटु, क्यान्सर, स्नायु, ट्रामा, मातृ तथा शिशु स्वास्थ्य जस्ता जटिल सेवामा केन्द्रित हुँदै यो अस्पताल प्रदेशकै स्वास्थ्य प्रणालीको नेतृत्व गर्ने संस्थाको रूपमा स्थापित हुनुपर्छ ।
यसले काठमाडौँ केन्द्रित उपचार प्रणालीलाई सन्तुलनमा ल्याउँदै पश्चिम नेपालका बिरामीलाई आफ्नै प्रदेशमै भरपर्दो उपचार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
प्रशासनिक संरचना र सेवा व्यवस्थापन
अस्पताल व्यवस्थापन संरचना सुदृढ गर्नु स्वास्थ्य सेवाको गुणस्तर सुधार र सेवाग्राहीलाई प्रभावकारी सेवा दिनको लागि अनिवार्य छ ।
अस्पतालका पूर्व अध्यक्ष तथा स्वास्थ्य क्षेत्रका जानकार बाबुराम भट्टराईका अनुसार मानव संसाधन व्यवस्थापन, सेवा व्यवस्थापन र पूर्वाधार तथा उपकरणको स्तरोन्नतिमा विशेष ध्यान दिनु आवश्यक छ ।
भट्टराई भन्छन्, “वित्तीय व्यवस्थापन पारदर्शी र उत्तरदायी हुनुपर्छ । गुणस्तर नियन्त्रण प्रणाली प्रभावकारी हुनु, आपत्कालीन र जोखिम व्यवस्थापन सुदृढ हुनु, र सूचना प्रविधिको प्रयोग मार्फत डिजिटल प्रणालीमा आधारित सेवा प्रवाह सुनिश्चित गर्नु अपरिहार्य छ ।” सेवाग्राही केन्द्रित सेवा प्रवाह र नेतृत्व तथा अनुगमन प्रणाली बलियो बनाउन सकियो भने बिरामीले सहज, सुरक्षित र गुणस्तरीय उपचार पाउनेछन् ।
अस्पताल संरचना अन्तर्गत प्रमुख विभागहरूमा जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, प्रसूति तथा स्त्रीरोग, बाल चिकित्सा, कार्डियोलोजी तथा सिसियू, आईसीयू, आकस्मिक सेवा जस्ता सेवाहरू छन् ।
त्यस्तै नाक–कान–घाँटी, आँखा, न्युरो लगायत विशेषज्ञ सेवाहरू उपलब्ध गराउन आवश्यक छ । साथै बिरामीको सुविधालाई ध्यानमा राख्दै क्याबिन, डिलक्स क्याबिन र भिआइपी क्याबिन जस्ता सुविधा विस्तार अपरिहार्य छ ।
जनशक्ति व्यवस्थापन
प्रस्तावित १२ सय शैयाको अस्पताल प्रभावकारी सञ्चालन गर्न पर्याप्त र दक्ष जनशक्ति अपरिहार्य छ ।
पूर्वअध्यक्ष भट्टराईका अनुसार यसका लागि करिब २५ सय जनशक्ति आवश्यक पर्छ, जसमा १५०–२०० विशेषज्ञ चिकित्सक, करिब २०० मेडिकल अफिसर र ठुलो संख्यामा नर्स तथा प्राविधिक कर्मचारी समावेश हुनुपर्छ ।
नर्सिङ सेवामा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्ने बताउँदै उनले आईसीयूमा एक नर्सले तीनभन्दा बढी बिरामी हेर्न नपाउने, जनरल वार्डमा पाँच बिरामीको सीमा कायम गर्नुपर्ने र क्याविन तथा डिलक्स सेवामा सन्तुलित अनुपात आवश्यक रहेको बताए । भट्टराईले भने, “दक्ष जनशक्ति बिना पूर्वाधार केवल खाली संरचना बन्ने खतरा रहन्छ ।”
साथै, अस्पतालका सबै प्रमुख र विशेषज्ञ विभागहरू एउटै छानामुनि समन्वयात्मक रूपमा सञ्चालन हुनुपर्ने आवश्यकतामा उनले जोड दिए । “यसले बिरामीलाई काठमाडौंसम्म धाउनुपर्ने बाध्यता घटाउनेछ”–उनले भने ।
अत्याधुनिक पूर्वाधार
भौतिक पूर्वाधारका दृष्टिले अस्पताल अत्याधुनिक बन्ने योजना छ । दैनिक तीन हजार बिरामी सेवा दिन सक्ने ओपिडी ब्लक, इमर्जेन्सी तथा ट्रामा सेन्टर, २० भन्दा बढी अपरेशन कक्ष, भेन्टिलेटरसहितको एडभान्स आईसीयू, एमआरआई, सिटी स्क्यान, एक्स–रे र यूएसजी जस्ता आधुनिक परीक्षण सुविधा उपलब्ध हुनुपर्ने छ ।
फार्मेसी, ब्लड बैंक, सीएसएसडी र व्यवस्थित फोहोर व्यवस्थापन प्रणालीले अस्पताललाई पूर्णता दिनेछ ।
वित्तीय व्यवस्थापन
भट्टराईका अनुसार ७ अर्ब रूपैयाँ लागतको भवनमा उपकरणमा ६–८ अर्ब रूपैयाँ, सूचना प्रविधिमा ५०–८० करोड, प्रारम्भिक सञ्चालनमा २–३ अर्ब खर्च हुन सक्छ ।
यस विशाल लगानीलाई दिगो बनाउन आम्दानीका स्रोत स्पष्ट र पारदर्शी हुनुपर्छ । ओपिडी टिकट, बेड चार्ज, शल्यक्रिया शुल्क, फार्मेसी र निदान सेवाबाट आउने आम्दानीसँगै सरकारी तथा निजी बिमा प्रणालीलाई प्रभावकारी रूपमा एकीकृत गर्न सकिए वित्तीय व्यवस्थापन सहज हुनेछ । उनले भने, “बिमा प्रणालीलाई सही रूपमा लागू गर्न सकियो भने सेवा पहुँच बढ्छ र अस्पतालको आर्थिक आधार बलियो हुन्छ ।”
सूचना प्रविधि र गुणस्तर
सूचना प्रविधिको प्रयोगले अस्पताललाई नयाँ उचाइमा पु¥याउनेछ । बिरामीको सम्पूर्ण प्रक्रिया रजिष्ट्रेशनदेखि कन्सल्टेसन, निदान र भर्ना वा डिस्चार्जसम्म डिजिटल प्रणालीमा आधारित हुनु आवश्यक छ ।
यसले पारदर्शिता, छिटो सेवा र व्यवस्थापनमा सहजता ल्याउनेछ । गुणस्तर नियन्त्रणमा पनि विशेष ध्यान दिनुपर्ने भट्टराईले बताए । सङ्क्रमण नियन्त्रण टिम स्थापना, बिरामी सुरक्षा प्रोटोकलको कडाइ, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण प्राप्त गर्नु आवश्यक छ ।
जोखिम व्यवस्थापनमा भूकम्प, आगलागी जस्ता सम्भावित खतरा, आपत्कालीन तयारी, अक्सिजन प्लान्टको व्यवस्था, अतिरिक्त जनशक्ति र नियमित अभ्यास अपरिहार्य छन् ।
सेवाग्राही केन्द्रित सेवा
क्याबिन, डिलक्स क्याबिन र भिआइपी क्याबिन जस्ता सेवा केवल सुविधा नभई सेवा व्यवस्थापनको स्तर मापन गर्ने आधार हुन् । बिरामीले सहज सेवा, स्पष्ट शुल्क संरचना र सम्मानजनक व्यवहार पाउन सके अस्पतालको सेवा थप प्रभावकारी बन्न सक्छ ।
नेतृत्व र अनुगमन
भट्टराईका अनुसार अस्पतालका लागि रेफरल नेटवर्क निर्माण, दक्ष जनशक्तिमा लगानी, सार्वजनिक–निजी साझेदारी र सबै सरोकारवालाबीच समन्वय हुनु अपरिहार्य छ । यसले मात्र अस्पतालले आफ्नो उद्देश्य पूरा गर्न सक्छ ।
विशेषज्ञ के भन्छन् ?
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल यस आयोजनालाई केवल एउटा भवनका रूपमा मात्र नभई लुम्बिनी प्रदेशकै मुहार फेर्ने ऐतिहासिक फड्कोका रूपमा हेर्छन् ।
डा. ढकालका अनुसार प्रदेश सरकारको यो गौरवको आयोजनाले लुम्बिनी प्रदेश र आसपासको क्षेत्रमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्नेछ । उनी भन्छन्, “प्रदेशको राजधानी दाङ सरेपछि बुटवलले जुन रिक्तता महसुस गरेको थियो, त्यसको उचित क्षतिपूर्ति यही अत्याधुनिक अस्पतालले तिर्नेछ ।”
नारायणी पश्चिम क्षेत्रका बिरामीहरूका लागि यो मुख्य भरोसाको केन्द्र बन्ने उनको भनाइ छ । “अब जटिल प्रकृतिका रोगको उपचार र ठूला शल्यक्रियाका लागि काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ, किनकि राजधानी बाहिरै सबैभन्दा आधुनिक र विशिष्टिकृत सुविधा उपलब्ध हुन्छ”–डा. ढकाल भन्छन्, “यद्यपि, यति विशाल संरचनाको आर्थिक पक्ष र सञ्चालनका बेला आउन सक्ने प्राविधिक चुनौतीहरूलाई प्रदेश सरकारले विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ ।“
अध्यक्ष अजय मान भन्छन्–सेवाग्राहीको सन्तुष्टि नै मुख्य उपलब्धि
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजय मान श्रेष्ठ ले यो परियोजनालाई सेवाको नयाँ गन्तव्य मान्दै नेतृत्व र निरन्तर अनुगमनलाई प्राथमिकता दिनुपर्ने बताए । उनका अनुसार सेवाग्राही सन्तुष्टि नै अस्पतालको सफलताको प्रमुख सूचक हुनेछ ।
अस्पतालको पूर्वाधारसँगै सेवाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने भन्दै उनले यसका लागि विशेष संयन्त्र बनाउनुपर्नेमा जोड दिन्छन् । प्रदेशको गौरवको यो आयोजनाले यस क्षेत्रकै मुहार फेर्ने भन्दै श्रेष्ठले यसको सफलता सिङ्गो मुलुकको स्वास्थ्य प्रणालीसँग जोडिएको बताए । “लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ संरचनाले देशकै ध्यान खिचेको छ, यसको सञ्चालनका लागि आइपर्ने चुनौतीलाई सबै मिलेर उपलब्धिमा परिणत गर्नुपर्ने छ”–श्रेष्ठ भन्छन् ।
प्रदेश सरकारको के छ योजना ?
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार यस अस्पताललाई सुपर अस्पतालको रूपमा विकास गरिनेछ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्ने नीति लिएर यसलाई प्राथमिकतामा राखेको छ ।
विशेषज्ञ चिकित्सक र पर्याप्त जनशक्ति सुनिश्चित गर्न सङ्घीय सरकारसँग समन्वय गरिने छ । गौतमले भने, “१२ सय शैयाको यो अस्पताल केवल सरकारी अनुदानमा निर्भर नहुने, स्वास्थ्य बिमा, सेवा शुल्क र अन्य स्रोतबाट दिगो सञ्चालन हुने संस्थाका रूपमा स्थापित हुनुपर्छ । आर्थिक रूपमा सबल नभएसम्म सेवा विस्तार र गुणस्तर कायम राख्न कठिन हुनेछ ।”
लुम्बिनी प्रादेशिक अस्पताल केवल भवन मात्र नभई स्वास्थ्य सेवा प्रणाली सुधार, विशेषज्ञ सेवा उपलब्धता र पश्चिम नेपालका बिरामीका लागि भरोसाको केन्द्र बन्ने महत्त्वाकाङ्क्षी परियोजना बनेको छ ।
दक्ष जनशक्ति, अत्याधुनिक पूर्वाधार, डिजिटल प्रणाली र गुणस्तरीय सेवाको समन्वयले मात्र यस अस्पतालले आफ्नो उद्देश्य पूरा गर्ने विश्वास लिइएको छ ।