© 2026
अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय तह, विभिन्न सरकारी कार्यालय, निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आर्थिक गणनाको आवश्यकता, यसको प्रभावकारी कार्यान्वयन प्रक्रिया, तथ्याङ्क सङ्कलनका विधिहरू तथा यसबाट प्राप्त हुने अपेक्षित उपलब्धिबारे विस्तृत रूपमा छलफल गरिएको सहायक आर्थिक गणना अधिकारी दिलीप केसीले बताए ।
राष्ट्रिय आर्थिक गणना २०८२ को समग्र उद्देश्य र कार्ययोजनाबारे जानकारी गराउँदै आर्थिक गतिविधिसँग सम्बन्धित तथ्याङ्क सङ्कलन वैज्ञानिक र विश्वसनीय तरिकाले गर्नुपर्नेमा जोड दिइएको थियो ।
आर्थिक गणना कार्यालय अर्घाखाँचीका प्रमुख बाबुराम न्यौपानेले आर्थिक गणना सफल बनाउन सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए । उनले आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कहरू भविष्यका विकास योजना निर्माणका लागि आधारशिला बन्ने उल्लेख गर्दै तथ्याङ्क सङ्कलनमा कुनै कमजोरी हुन नदिन सबै सरोकारवालाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस गणनाले जिल्लाको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र सार्वजनिक गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार उत्पादन, व्यापार, सेवा र रोजगारीका क्षेत्रमा रहेका वास्तविक अवस्थाको पहिचानले नीति निर्माण र योजना तर्जुमामा महत्त्वपूर्ण सहयोग पुग्नेछ ।
सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आर्थिक गणनामा वास्तविकता झल्किने गरी तथ्याङ्क सङ्कलन हुनुपर्नेमा विशेष जोड दिए । उनले स्थानीय तहको विकास योजना, बजेट निर्माण तथा नीति निर्धारणका लागि यथार्थपरक तथ्याङ्क अपरिहार्य हुने बताउँदै यस अभियानलाई गम्भीरतापूर्वक लिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले राष्ट्रिय आर्थिक गणना २०८२ ले जिल्लाको वास्तविक आर्थिक अवस्था पहिचान गर्न, उत्पादन, व्यापार, सेवा तथा रोजगारी क्षेत्रको विस्तृत विवरण उपलब्ध गराउन र दीर्घकालीन विकास रणनीति निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए । कार्यक्रमले आर्थिक गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सबै पक्षबिच सहकार्यको आवश्यकता औँल्याउँदै सकारात्मक सन्देश प्रवाह गरेको छ ।